ह्यग्रीव आचार्य, अध्यक्ष भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान

पर्सा जिल्लाको बीरगन्जमा जन्मिएर हेटौंडालाई कर्मथलो बनाउनुभएका भीम विराग नेपाली गीत, संगीतमा नेपाली माझ देश–विदेशमा चर्चित हुनुहुन्थ्यो । स्वरसम्राट नारायण गोपालको आवाजमा चर्चित गीतका रचनाकार मात्रै नभएर नेपाली साहित्यमा पनि भीम विरागको महत्वपूर्ण योगदान छ । भीम विरागले समाजका लागि, स्रोताका लागि आफ्नो कला, सीप प्रस्तुत गर्नुभए पनि आफ्नो व्यक्तिगत जीवनको सुख, समृद्धिमा कुनै लोभ गर्नुभएन । उहाँको एकल साँझ कार्यक्रम गर्दा भएको आम्दानी पनि व्यक्तिगत लाभका लागि नभई संगीत, साहित्यकै क्षेत्रमा लगानी गर्न भन्नुभएपछि ‘भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान’ को उत्पत्ति भएको बताउनुहुन्छ प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य । प्रतिष्ठानका गतिविधि र आगामी योजनाका विषयमा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानको अध्यक्ष हुनुभएलगतै कोभिडको सङ्क्रमणको जोखिमका कारण लकडाउन भयो । कोभिडका कारण प्रतिष्ठानका के कस्ता काम प्रभावित भयो ?
आचार्यः भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानमा गएको फागुनमा हामी नयाँ कार्यसमिति मेरो अध्यक्षतामा गठन भयो । त्यसलगतै कोभिड सुरुभयो । प्रतिष्ठानले गर्दै आएका कार्यक्रममा विशेष गरेर जिल्लास्तरको पुरस्कारमा र राष्ट्रिय पुुरस्कारहरु दिने गरेको थियो । वर्षको दुई पटक कार्यक्रम गरिन्थ्यो । एउटा भदौ महिनामा गरिन्थ्यो भने अर्को भीम विराग दाईको जन्मदिनको अवसरमा फागुन १५ गते राष्ट्रियस्तरको पुरस्कार प्रदान गरिन्थ्यो । तर, यो कोभिडका कारणले गर्दा हामीले पुरस्कृत गर्न सकेका छैनौं ।

समाजः पुरस्कार वितरण बाहेक प्रतिष्ठानले अन्य कामहरु खासै गर्न सकेको देखिँदैन । पुरस्कार वितरणबाहेक अन्य क्रियाकलापमा तपाइहरुको धारणा के हो ?
आचार्यः पहिला पहिला हामीले फाट्टफुट्ट स्कुलस्तरमा, क्याम्पसस्तरमा सांगीतिक कार्यक्रम, कवि गोष्ठिहरु गथ्र्यौं । २०५९ सालमा स्थापना भएको प्रतिष्ठानको म संस्थापक उपाध्यक्ष हुँ । त्यसकारण त्यस बेला काम हुन्थ्यो । पछिल्लो पटक अरु–अरु साहित्यक संस्थाहरुले पनि नियमित कार्यक्रम गरिरहेका छन् । पछिल्ला केही वर्ष हामीले पुरस्कार वितरण बाहेकका कार्यक्रम गर्न सकेका छैनौं ।

समाजः भीम विरागको नाममा जुन खालको प्रतिष्ठान स्थापना भयो । यो नाम लामो हुनुमा भीम विरागको संगीत, साहित्य र कलाको विषयलाई जोडिएको छ । भीम विरागको व्यक्तित्वलाई अलि बढि प्रचार गर्न र उहाँको व्यक्तित्वलाई अलि बढि उजिल्याउने काममा प्रतिष्ठानको ध्यान नपुगेको भन्ने कुरा पनि सुनिन्छ । ध्यान नपुगेकै हो या हामीले थप केहि गर्दैछौं ?
आचार्यः २०५९ सालमा प्रतिष्ठानको स्थापना भएको हो । त्यतिखेर तरङ्ग सांस्कृतिक परिषद् थियो । अहिले पनि छँदैछ । त्यो तरङ्ग सांस्कृतिक परिषद्ले भीम विराग सन्ध्या कार्यक्रम गरेको थियो उद्योग वाणिज्यको हलमा । म पनि पुगेको थिएँ । त्यति बेला टिकट सिस्टम थियो । त्यसबाट उठेको ३०-३५ हजार बचेछ । यो हाम्रो उज्ज्वल शर्मा भण्डारी, सुशीला मानन्धर दिदिहरुको पहलमा भएको हो । उहाँहरुले चै यो पैसा भीम विराग दाइलाई दिउँ उहाँकै नामबाट कार्यक्रम गरेको हो । यति बच्यो भनेर घरमा जाँदा दाईले चैं मेरो नाममा एउटा संस्था खोलेर त्यसमा राखिदेउ भन्नुभयो । त्यसपछि भीम विराग दाईको नाममा एउटा संस्था खोलौं भनेर हामी लाग्यौं । मुक्ति गोविन्द वैद्य, घनश्याम शंकर, विन्दुगोपाल गोर्खाली, सुशीला पाण्डे मानन्धर, उज्ज्वल शर्मा भण्डारी, गोविन्द गुरुङ, प्रमेन्द्र महर्जन, माधव रिसाल, तुल्सी थापा, म लगायत १० जना छलफलमा बस्यौं । त्यसपछि भीम विराग प्रतिष्ठान गठन भयो । प्रतिष्ठानको कोषमा ४-५ लाख रुपैयाँ अहिले पनि छ । तर, साहित्यका लागि जमिन चहिँदो रहेछ, घरै चाहिँदो रहेछ । भीम विराग दाईको कतिपय किताबहरु छापिन बाँकी छन् । हातले लेख्नुभएको पाण्डुलुपि बाँकी छन् । कतिपय गीतहरु बाँकी छन्, कविता, गजल बाँकी नै छन् । भीम विरागको व्यक्तित्व र उहाँको व्यक्तित्वलाई उजागर गर्न सकिरहेका छैनौं । यो सत्य हो ।

समाजः भीम विरागको व्यक्तित्वलाई उजिल्याउन के गर्न सकिन्छ होला ? या तपाईहरुलाई के कस्तो साथ सहयोग को जरुरी छ ?
आचार्यः यसलाई हामीले परिकल्पना गरेका छौं । मेरो नेतृत्वमा नयाँ टिम आएपछि भीम विराग दाईको स्मृतिमा कोष खडा गर्नका लागि एउटा महफिल कार्यक्रम चलाउने योजना बनाउँदै थियौं । यो कोभिडले गर्दाखेरी जमघट गर्न नपाउने भयो । म आफैं जुन संस्थामा बस्यो त्यो संस्थालाई केहि गर्नु पर्छ भनेर हो र मैले गरेको पनि छु । प्रतिकुल स्थिति भएकोले हामीले गर्न नसकेको हो । तर, आगामी दिनमा हामी गर्छौं ।

समाजः संगीत, साहित्य, कला क्षेत्रमा लाग्ने नयाँ पुस्ताले भीम विरागको व्यक्तित्वको बारेमा के–के कुरा जान्नु जरुरी छ ?
आचार्यः भीम विराग दाईमा राम्रो व्यक्तित्व थियो । उहाँ विशेष गरेर गायक हुनुहुन्थ्यो । संगीतकार र गीतकार पनि हुनुहुन्थ्यो । उहाँको व्यक्तित्व कवि र पत्रकार पनि हो । भीम विराग दाइको जिवनी नै तयार छ । त्यसबाट उहाँको बहुमुखी कलाका बारेमा नयाँ पुस्ताले जान्नु जरुरी छ ।