हेटौंडाः हेटौंडा–१०, टिसिएनमा प्रस्तावित टोनी हेगन स्मृति पार्क निर्माण समिति र अनुमगन समिति गठन गरिएको छ । शनिबार एक भेलाले रामप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय पार्क निर्माण उपभोक्ता समिति गठन गरिएको छ । यस्तै नरहरी महतको संयोजकत्वमा ३ सदस्यीय अनुमगन समिति गठन गरिएको डा. टोनी हेगन स्मृति पार्क विकास तदर्थ समितिका संयोजक इन्द्रप्रसाद नेपालले जानकारी दिनुभएको छ ।

१० नम्बर वडा अध्यक्ष किताप सिं लामाको आतिथ्यमा भएको बैठकमा जनप्रतिनिधिहरु, स्थानीय टोल विकास संस्थाहरु एवम् युवा क्लबका प्रतिनिधिहरु लगायत पार्क निर्माणस्थल वरपरका वडाबासीहरुको उपस्थिति रहेको थियो । बैठकमा पार्क निर्माणका लागि हालसम्म भएका कार्यहरु मास्टर प्लान निर्माण, विधान तयारी, पर्खाल निर्माण, पार्कमा रहने संरचनाका विषयमा छलफल भएको छ । चालु आर्थिक वर्षमा पार्ककका लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ र प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको तदर्थ समितिका संयोजक नेपालले जानकारी दिनुभएको छ ।