हेटौंडाः स्वास्थ्य सेवा क्षेत्रको सुधारको माग गर्दै १९ औं पटक आमरण अनसनमा बस्नुभएका डा. गोविन्द केसीको समर्थनमा हेटौंडामा बिहीबार पनि प्रदर्शन भएको छ । हेटौंडाको बुद्धचोकमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी (नेवि) संघले प्रदर्शन गरेको हो । उनीहरुले डा. केसीको जीवन रक्षाको माग गरेका थिए ।
कांग्रेस मकवानपुरका नेताहरुको समेत सहभागिता रहेको प्रदर्शनमा सरकारको विरोधमा पनि नारा लगाएका थिए । डा. केसीको अनसनको समर्थन तथा सरकारलाई दबाव दिन हेटौंडामा दैनिक जसो प्रदर्शन भइरहेको छ । युवाको समुहले हरेक दिन बुद्धचोकमै प्रदर्शन गरिरहेका छन् ।
बुधबार मकवानपुरका साहित्यकारहरुले डा. केसीको समर्थनमा नगर परिक्रममा गरेर जिल्ला प्रशासन कार्यालयमा २४ मिनेट धर्ना दिएका थिए भने प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए ।