हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले ४ नम्बर वडाको निबुवाटारमा मंगलबार आयोजना गरेको निशूल्क गर्भपरीक्षण शिविरमा १६ जना गर्भवतीले गर्भ परीक्षण गरेका छन् । वडा नम्बर ३ र ४ का १६ जना गर्भवती लाभान्वित भएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिने अल्ट्रासाउण्ड मेसिनको प्रयोग गरेर सोमबारदेखि पालिकाका ४ वटा स्वास्थ्य चौकीमार्फत नियमित गर्भ परीक्षण शिविर सुरु गरेको जनाएको छ । सोमबार भीमफेदी–२ भैंसेस्थित स्वास्थ्यचौकीमा आयोजना गरिएको निशूल्क गर्भ परीक्षण शिविरमा वडा नम्बर १, २ र ९ का २१ जना गर्भवती लाभान्वित भएका थिए । गाउँपालिकाले मातृ–शिशु मुत्युदर न्यूनीकरण गर्ने उद्देश्यका साथ ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत सेवा सञ्चालनमा ल्याएको हो ।
त्यस्तै गाउँपालिकाले मंगलबार कोरोना नियन्त्रण सम्बन्धी गाउँपालिकाका महिला स्वास्थ्य स्वयम्सेविका तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरेकोे छ । भीमफेदी गाउँपालिकाले आज बुधबार र भोलि बिहीबार दुईदिन पोषण कार्यक्रमको समीक्षा गर्ने र शुक्रबार र शनिबार क्षयरोगको मोडुलर पुनर्ताजगी तालिमको आयोजना गर्ने स्वास्थ्य संयोजक थिङले जानकारी दिनुभएको छ । भीमफेदी गाउँपालिकामा २ जना मेडिकल अधिकृत, १५ जना स्टाफ नर्ससहित ४५ जना कार्यरत छन् ।
भीमफेदी गाउँपालिकाका ९ वटा वडा मध्ये ८ वटा वडामा स्वास्थ्य सेवा प्रदायक संस्था स्थापना भइसकेको छ भने वडा नम्बर ३ मा दसैं तिहार लगत्तै स्वास्थ्य सेवा प्रदायक संस्था स्थापना गर्ने तयारी भइरहेको स्वास्थ्य संयोजक थिङले जानकारी दिनुभयो ।