धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग रकमको नमूना चेक हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री पौडेल र सामाजिक विकास मन्त्री दूलाल । साथमा प्रमुख सचिव बिक ।

हेटौंडाः बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ३ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौंडामा बुधबार एक कार्यक्रमका बीच मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको भन्दै प्रशंसा गर्नुभयो । रङ्गशाला निर्माण तीव्र गतिमा भइरहेको भन्दै खुशी समेत व्यक्त गर्नुभएका मुख्यमन्त्री पौडेलले रङ्गशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिनुभएको छ । प्रदेश सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उहाँले बताउनुभएको छ । रङ्गशाला निर्माणमा चुनौति धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउनुहुँदै यो गौरवको आयोजना भएको बताउनुभयो । सरकारले सहयोग जारी राख्ने बताउनुहुँदै उहाँले भन्नुभयो, ‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।’

यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले फेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो । परिकल्पना अनुसार सफलता लागि शुभकामना दिँदै फाउण्डेसनलाई चुनौती पन्छएर अगाडि बढ्न सुझाव दिनुभयो । यसैगरी फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिनुभयो । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिनुभयो । रङ्गशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको जानकारी पनि दिनुभयो ।

सहयोगी मनहरुले सहयोग गरिरहेको भएपनि लकडाउनले परिस्थिति जटिल बनाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘अवस्था समस्याजनक छ तर पनि काम गर्दैछौं, बजारमा ७ करोड तिर्न बाँकी छ । तर पनि हामीले हिम्मत हारेका छैनौं ।’ कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले सहभागी हुनुहुन्थ्यो ।