हेटौंडाः हेटौंडा–४, हुप्रचौरमा आइतबारदेखि क्रिकेट प्रशिक्षण सुरु भएको छ । ७ महिनापछि हेटौंडामा क्रिकेट प्रशिक्षण सुरु भएको छ । प्रशिक्षक सञ्जय महर्जनले क्रिकेट प्रशिक्षण गराइरहनु भएको छ । हाल १ महिला र १५ जना पुरुषसहित १६ जना खेलाडी क्रिकेट प्रशिक्षणमा सहभागी छन् । उच्च सतर्कता अपनाउँदै प्रशिक्षण सुरु गरिएको बागमती प्रदेश क्रिकेट एशोसिएसनका उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी दिनुभएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण मकवानपुरको खेलकुद क्षेत्र पनि प्रभावित बनेको छ । कोरोनाको कारणले गर्दा गत वर्ष हुने भनिएका विभिन्न खेलकुदका कार्यक्रमहरु पनि स्थगित भएका थिए । कोरोना महामारीअघि जसोतसो चलिरहेको नेपाली खेलकुद क्षेत्र कोरोना महामारीले गर्दा थला पारेको छ । गतवर्ष मकवानपुरमा हुने भनिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, उपराष्ट्रपति चिल्डे्रन गेम र राष्ट्रिय खेलकुद परिषद्ले निर्माण सम्पन्न गर्ने भनिएको गौरीटारको कभर्डहल निर्माण कार्य बीचैमा रोकिएको छ । कोरोना कहरकै कारण मकवानपुर जिल्लामा नियमित प्रशिक्षण हुने फुटबल, भलिबल, बक्सिङ, कराँतेलगायतका खेल गतिविधि पनि ठप्प प्रायः छ ।