भीमफेदी गाउँपालिका–२, भैंसेस्थित स्वास्थ्य चौकीमा सोमबार गर्भपरीक्षण गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले स्वास्थ्य चौकीमै नियमित गर्भ परीक्षण शिविर सञ्चालन गर्न सुरु गरेको छ । एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान मिल्ने अल्ट्रासाउण्ड मेसिनको प्रयोग गरेर सोमबारबाट गर्भ परीक्षणको कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाको भौगोलिक अवस्था र सहज यातायातको सुविधा नहुँदा आउजाउको क्रममा गर्भवतीका लागि जोखिम हुने भएकोले पालिकाले स्वास्थ्य चौकीसम्म पुगेर गाउँपालिकाका सबै वडाका गर्भवती लाभान्वित हुने गरी गर्भ परीक्षण शिविरको आयोजना गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभएको छ ।

भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनाम थिङका अनुसार मातृ–शिशु मुत्युदर न्यूनीकरण गर्ने उद्देश्यका साथ ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत सेवा सञ्चालनमा ल्याएको हो । सोमबार पहिलो दिन भीमफेदी गाउँपालिका–२, भैंसेस्थित स्वास्थ्य चौकीमा गर्भपरीक्षण शिविरको आयोजना गरिएको छ । भैंसेमा आयोजना गरिएको भिडियो एक्सरे शिविरमा वडा नम्बर १, २ र ९ का २१ जना गर्भवती लाभान्वित भएको स्वास्थ्य संयोजक थिङले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले मंगलबार भीमफेदी–४, निबुवाटारस्थित स्वास्थ्यचौकीमा गर्भपरीक्षण शिविरको आयोजना गरेको छ । निबुवाटार स्वास्थ्य चौकीमा आयोजना गरिने शिविरबाट गाउँपालिकाको ४ र ५ नम्बर वडाका गर्भवती लाभान्वित हुने छन् । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा. सुनिल थापालाई अल्ट्रासाउण्ट सम्बन्धी तालिममा पठाएर सजिलै एक ठाउँबाट अर्को ठाउँ लैजान मिल्ने अल्ट्रासाउण्ड मेसिन खरिद गरी नियमित शिविरको सुरुवात गरेको स्वास्थ्य संयोजक रामनाम थिङको भनाइ छ ।

गाउँपालिकाको वडा नम्बर ७ कोगटे र वडा नम्बर ८ इपास्थित स्वास्थ्य चौकीमा पनि असोज महिनाभित्रै गर्भपरीक्षण शिविरको आयोजना गरिने स्वास्थ्य संयोजक थिङले बताउनुभएको छ । वर्षाका कारण पहिरोले भीमफेदी–८ इपा पुग्न सडक अवरुद्ध भएका कारण तत्काल शिविरको आयोजना गर्न सम्भव नभएको उहाँले बताउनुभयो । सडक सुचारु गर्ने प्रयास भइरहेको र असोज महिनाभित्रै इपा र कोगटेमा शिविर आयोजना गरिने स्वास्थ्य संयोजक थिङले बताउनुभयो । भीमफेदी–६ स्थित प्राथमिक स्वास्थ्य चौकीले भीमफेदी ५ र ६ का नागरिकलाई सेवा प्रदान गर्ने भएकोले ४ स्थानामा मासिक रुपमा नियमित गर्भपरीक्षण शिविर सञ्चालन गर्दा पालिकाका सबै गर्भवतीले नियमित गर्भ परीक्षणको अवसर प्राप्त गर्ने भएका छन् ।