हेटौंडाः मकवानपुर प्रहरीले १० किलो २८८ ग्राम लागूऔषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी लेवटबाट प्रहरी सहायक निरीक्षक रुपक थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले हेटौंडा–३ स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा ३–०३–००१ ज ००१२ नम्बरको यात्रुवाहक म्याजिकलाई रोकेर चेकजाँच गर्दा गाँजा फेला पारेको हो ।

प्रहरीले गाँजा सहित हेटौंडा–१९ का ४६ वर्षको बिर बहादुर घलान, मनहरी गाउँपालिका– ५ का ४० वर्षीया सृजना तामाङ र कैलाश गाउँपालिका–१० बस्ने २४ वर्षको प्रकाश तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो ।

उनीहरुले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको हो । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो ।