हेटौंडाः हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गको भीमफेदी–कुलेखानी सडकखण्डमा टाटा सुमो दुर्घटनामा सकुसल रहेको बालकका आफन्त भेटिएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटना हुँदा सुमोमा सवार बालक सकुसल भए पनि बालकले आमा भने गुमाएका थिए । आइतबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा जिल्लाको जोरपानी–७ का बालककी आमा २५ वर्षीया देवकुमारी गिरिको भने उपचारको क्रममा हेटौंडा अस्पतलामा मृत्यु भएको थियो । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो ।
करिब ४ वर्षका बालक आफैंले पनि आफ्नो नाम ठेगाना राम्रोसँग बताउन नसक्ने अवस्थाका कारण मकवानपुर प्रहरीले आइतबार साँझ बालकलाई बालगृहमा पठाउने योजना बनाउँदै थियो । बालकको परिचय नखुलेको भनी समाचार तथा सामाजिक सञ्जालमा उल्लेख भएपछि अबेर राती करिब ११ बजे बालकका आफन्त भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । राती करिब ११ बजे मृतक महिलाकी मामा ससुरा मकवानपुरको मनहरी गाउँपालिका–३ का उमेश मैनालीले बालकलाई लिएर गएका छन् ।
मनहरी गाउँपालिकाका जनप्रतिनिधिको समेत उपस्थितिमा प्रहरीले बालकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । झापा जिल्ला ठेगाना भए पनि काठमाडौंमा बस्दै आएकी गिरि केहीदिन अघि हेटौंडामा आफन्तकोमा आएकी थिइन् । आइतबार काठमाडौं फर्कने क्रममा भीमफेदी–६ सिमखोलामा सुमो दुर्घटनामा परी गिरिको मृत्यु भएको हो ।