हेटौंडाः बाग्मती प्रदेश दुग्ध विकास बोर्ड स्थापना भएको एक वर्ष बितिसकेको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अध्यक्ष रहने बोर्डमा उपाध्यक्ष तथा सदस्यहरु भने अझै चयन हुन सकेको छैन । दुग्ध विकास बोर्डले भदौ २ गते उपाध्यक्षका लागि आवेदन आव्हान गरेकोमा ४ जनाको आवेदन परेको छ ।

आवेदन दिनेहरुमा ललितपुर जिल्लाका कुष्ण सापकोटा, काभ्रे जिल्लाका टिका बल्बभ, नुवाकोटका डा. रामकुमार कार्की र काठमाडौंका सुवास चन्द्र ढकाल रहनु भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कानून अधिकृत प्रकाश शर्माले बताउनुभयो । उपाध्यक्षको छनोटका लागि ५ जनाको छनोट समिति गठन गरिएको छ ।

प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष छनोट प्रक्रियामा तीन चरणहरु रहेको बताइएको छ । उपाध्यक्षका उम्मेद्वारको कार्यपत्र मूल्यांकन, प्रस्तुतीकरण र अन्तर्वार्ता रहेको छ । आवेदक मध्ये एकजनाको कोरोना संक्रमित भएसँगै छनोट प्रक्रियामा केही ढिलाइ भएको मन्त्रालयका कानून अधिकृत शर्माले जानकारी दिनुभएको छ ।

बोर्डको उपाध्यक्षका लागि सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव हुनुपर्ने, सोही क्षेत्रमा काम गरिरहेको हुनुपर्ने, ३५ वर्ष पूरा भएको हुनुपर्ने छ । यस्तै दुग्ध विकास बोर्ड ऐन २०७५ तथा विनियमावली २०७६ बमोजिम मन्त्रालयले तोके बमोजिम दरखास्त पेश गर्न मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।