हेटौंडाः मकवानपुरकोे कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढ्ने क्रम जारी रहेको छ । हिजो १ हजार ५ सय २४ मिटर रहेको पानीको सतह आज १ हजार ५ सय २५ दशमलव २९ मिटर पुगेको छ ।
एक दिनमा नै पानीको सतह १ मिटर २९ सेन्टिमिटर बढेको कुलेखानी आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले जानकारी दिनुभयो । साउनमा आयोजना धेरै समय चलाएकोले घटेको पानीको सतह असोज १ गते देखि नै बढ्न थालेको हो । गत वर्ष असोजमा जलाशयमा पानीको सतह १ हजार ५ सय २७ दशमलव ७० मिटर पुगेको थियो । जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानीको क्षमता रहेको छ ।
मकवानपुर उत्तरीक्षेत्रस्थित देशकै पावर व्याकअपको रुपमा परिचित कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा मंगलबारदेखि भारी वर्षा भएका कारण पानीको सतह बढेको कुलेखानी जलविद्युत प्रथम ‘ए’ का आयोजना प्रमुख धिरेन्द्र चौधरीले बताउनुभयो । गत शनिबार दिउँसो ४ बजे १ हजार ५ सय १८ दशमलव ५४ मिटर रहेको ईन्द्रसरोवर जलाशयमा पानीको सतह बढेर १ हजार ५ सय २४ मिटर पुगेको उहाँले बताउनुभयो ।
कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानी भरिन सक्छ । कुलेखानी ड्याममा १ हजार ५ सय २७ मिटरसम्म पानीको सतह पुग्नेबित्तिकै कुलेखानीको ढोकाहरु खोलिने उहाँले बताउनुभयो । पानीको सतह अब ३ मिटर बढ्यो भने ड्यामको ढोकाहरु खोलिने छ । लगातार वर्षाका कारण ७ किलोमिटर लम्बाई भएको कुलेखानी जलाशयको बढेको हो । उहाँले जलसतह बढेपछि विद्युत पनि बढी उत्पादन हुने बताउनुभयो । अहिले कुलेखानी ‘ए’ ले ६० मेगावाट विजुली उत्पादन गर्दै आएको छ । काठमाडौंको लोड व्यवस्थापन केन्द्र (एलडिसि) को निर्देशन अनुसार आयोजना सञ्चालन गरिने उहाँले बताउनुभयो ।
साउन र भदौमा पूर्ण क्षमतामा २४ घण्टा नै चलेको आयोजनामा पनीको सतह घटेको थियो । असोजमा कम चलेकोले सतह बढ्न थालेको उहाँले बताउनुभयो । जलविद्युतका अन्य आयोजनाहरु निरन्तर चलेमा जलाशयमा पानीको सतह अझै बढ्ने उहाँले बताउनुभयो । गत वर्ष असोजमा कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५ सय २७ दशमलब ७० पुगेको थियो । राष्ट्रिय प्रसारणमा बढी विद्युत माग हुने समयमा कुलेखानीलाई व्याकअपको रुपमा चलाइने गरेको उहाँले बताउनुभयो ।
कुलेखानी प्रथम, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो तीन वटै आयोजना निरन्तर चलेकोले गत वर्षको जति पानीको सतह नबढेको उहाँले बताउनुभयो । कुलेखानी प्रथममा ६० मेगावाट, र दोस्रोमा ३२ मेगावाट र कुलेखानी तेस्रोमा १४ मेगावाट गरी १ सय १४ मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको छ । त्रिशुली थ्री ए जलविद्युत आयोजनाको मेसिन परीक्षणको काम हुँदा कुलेखानी धेरै चलेको आयोजनाका अधिकारीले जनाएका छन् । अहिले त्रिशुली थ्री ए सञ्चालनमा आएकोले कुलेखानी जलविद्युत आयोजना कम चल्न थालेको आयोजना प्रमुख चौधरीले बताउनुभयो ।