ईन्द्रसरोवर गाउँपालिकाको देउरालीमा पहिरोले पुरिएको स्कोर्पियो । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत देउराली–कुलेखानी सडकखण्डको बतासे भन्ने स्थानमा पहिरोले स्कोर्पियो पुरिएर मृत्यु भएका व्यक्तिको सनाखत भएको छ । आज बिहान करिब ८ बजेको समयमा आएको पहिरोमा परी काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कोर्पियो पुरिएको थियो । स्कोर्पियोमा पुरिएर मृत्यु हुनेमा बारा जिल्लाको पर्सौनी गाउँपालिका–४ का ४० वर्षीय युनिष आलम भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

युनिषको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोसँगै आएको ढुंगाले थिचिएर युनिषको मृत्यु भएको हो । यस्तै पहिरोमै परेर बा ९७ प ४८५१ नम्बरको मोटरसाइकल पनि पुरिएको थियो । मोटरसाइकलमा सवार दुईजनाको खुट्टा भाँचिएर उपचारका लागि काठमाडौं पठाइएको छ । काठमाडौंबाट हेटौंडातर्फ नै आउँदै गरेको मोटरसाइकलमा सवार काठमाडौंको मण्डिखाटार नगरपालिका–२७ का ४७ वर्षीय राज आचार्य र ५३ वर्षीय सञ्जीव अधिकारीको खुट्टा भाँचिएको र उपचारका लागि काठमाडौं पठाइएको नायव प्रहरी उपरीक्षक रानाले जानकारी दिनुभएको छ । अहिले पहिरो पन्छाएर बाटो सुचारु गर्ने कार्य भइरहेको छ । प्रदेश सरकारले भीमफेदी–कुलेखानी सडकखण्ड फराकिलो बनाइरहेको र हिजो दिउँसोदेखिको भारी वर्षाका कारण पहिरो गएको हो ।