हेटौंडाः कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत वनविज्ञान संकायको हेटौंडास्थित विश्वविद्यालय क्याम्पसका विद्यार्थीले शैक्षिक सत्र २०७६ को स्नातक तह प्रथम वर्षमा भर्ना हुन पाएनन् । भर्नाको समयमा विश्वविद्यालय र विद्यार्थीबीचको विवादले शैक्षिकसत्र २०७६ सकिसक्दा पनि विद्यार्थीले भर्ना हुन पाएनन् । अहिले विद्यार्थीले भर्ना हुन पाउनुपर्ने माग राख्दै डीन कार्यालयलाई सम्बोधन गरेर विज्ञप्ति जारी गरेको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत हेटौंडास्थित वन संकायको डीन कार्यालयलाई सम्बोधन गरेर विश्वविद्यालयले प्रवेश परीक्षा लिएर भर्ना हुन छनोट भएका विद्यार्थीलाई भर्ना गरिदिन भन्दै मंगलबार विज्ञप्ति जारी गरेको छ । विश्वविद्यालयले शैक्षिकसत्र २०७६ सञ्चालन नै नगरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै ध्यानाकर्षण गराएको छ । २०७६ साल पुस ५ गते विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भर्ना गर्न विद्यार्थीहरुले आग्रह गरेका छन् ।
विद्यार्थी संगठनहरुले पनि विद्यार्थी भर्ना गराउने र पठनपाठन सुचारु गराउने विषयमा ध्यान दिन नसकेको भनी विद्यार्थीहरुले दुखेसो गरेका छन् । विद्यार्थीहरुले शैक्षिक सत्र २०७६ को भर्ना कार्यक्रम छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्ने, अध्यापन कार्य शुरु गर्नुपर्ने, विद्यार्थी संगठनसँग छलफल गरी अध्ययन कार्यलाई निकास दिनुपर्ने, डीन कार्यालय विद्यार्थीको भविष्यप्रति जिम्मेवारी हुनुपर्ने माग राखेका छन् ।
आफूहरुसँगै प्रवेश परीक्षा दिएका साथीहरु त्रिभूवन विश्वविद्यालयबाट पहिलो वर्षको अध्ययन पूरा गरिसकेको भन्दै विद्यार्थीहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।