हेटौंडाः कोरोना सङ्क्रमण फैलिन नदिनका लागि नेपाल सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको थियो । लकडाउन सुरु भएसँगै बन्द भएका हेटौंडाका होटलहरु बल्ल सञ्चालनमा आउन थालेका छन् । कतिपय होटलहरु अझै बन्द नै छन् । होटल सञ्चालन गरे पनि ग्राहक भने एक दिनमा १/२ जना मात्रै आउने गरेको होटलका व्यवस्थापकहरु बताउँछन् । लकडाउन हटेपछि र निषेधाज्ञा सुरु नहुञ्जेल केहि दिन होटल खोले पनि व्यवसाय राम्ररी चलेको थिएन ।

गत चैतदेखि भदौसम्म ६ महिना कुनै होटलका कर्मचारीहरुले तलब पाएका छैनन् । कुनै—कुनै होटलहरुले केही कर्मचारीलाई आंशिक तलब दिएका छन् । कतिपय होटलहरुले असोजबाट केही कर्मचारीलाई काममा बोलाए पनि अन्य कर्मचारीहरु भने होटलले कहिले काममा बोलाउला भनेर कुरेर बस्न बाध्य भएका छन् । हेटौंडा—४ नारायणी मलमा रहेको होटल सामनामा लकडाउन अगाडि ६२ जना कर्मचारी कार्यरत थिए । उनिहरुलाई हाल होटलले रोटेसनमा काममा बोलाउने गरेको छ । कर्मचारीहरुलाई ५ वटा डिपार्टमेन्टमा छुट्याइएको सो होटलले १ डिपार्टमेन्टका कर्मचारीहरुलाई १५ दिन काममा बोलाउने गरेको छ । प्रतिमहिना २० लाखको हाराहारीमा आम्दानी गर्ने होटल सामनाले हाल व्यवसाय ठप्प भएकोले बैंकको किस्ता, कर, घरबहाल तिर्न समस्या भएको जनाएको छ ।

हेटौंडा—२ मा रहेको मोटल एभकार्डोले कर्मचारीहरुलाई चैतदेखि नै बेतलबी बिदामा राखेको छ । कर्मचारीको स्तर हेरेर केहि कर्मचारीलाई तलब दिइएको होटलमा व्यवस्थापक मनोज ढोडारीले जानकारी दिनुभयो । भदौदेखि होटलले केही कर्मचारीहरुलाई काममा बोलाउन थालेको छ । मोटल एभकार्डोमा ६० जना कर्मचारी कार्यरत थिए । सो होटलले भदौ महिनामा भने हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको उद्योगकाका कर्मचारीलाई राखेको थियो ।

होटल सीमाले २५ जना कर्मचारीलाई बेतलवी बिदामा राखेको छ । होटलका प्रबन्धक प्रमोद मानन्धरले हाल होटल सञ्चालन गर्न थालेपनि पाहुना नआएका कारण कर्मचारीहरुलाई नबोलाएको बताउनुभएको छ । उहाँले हाल होटललाई प्रत्येक महिना १० लाख घाटा भइरहेको बताउनुभयो । उहाँले सरकारले पर्यटन क्षेत्रमा निश्चित मापदण्ड नअपनाएसम्म र यातायत राम्ररी नचलेमा पर्यटक, पाहुना नआउने बताउनुभयो ।
होटल लिडो इनका व्यवस्थापक अनिल भण्डारीले होटल व्यवसायीहरु व्यवसाय छाड्ने स्थितिमा पुगेको बताउनुभयो । चैत ११ गतेदेखि बन्द भएको होटल असोज १ गतेबाट सञ्चालनमा आएको छ । होटलले १६ जना कर्मचारी मध्ये ६ जनालाई काममा बोलाएको छ । होटलका १६ जना कर्मचारी चैतदेखि नै बेतलबी बिदामा छन् ।