हेटौंडाः संविधान दिवसको अवसरमा मकवानपुर जिल्लाका ३ कैदीबन्दीको बाँकी कैद मिनाहा भएको छ । मकवानपुर जिल्लाको थाहा नगरपालिका–२, टिष्टुङका कर्तव्य ज्यान मुद्धामा कैद सजाय बिताइरहेका ईश्वर गोले, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का डाँकाचोरी मुद्धामा कैद सजाय भुक्तान गरीरहेका बद्रीजङ्ग गुरुङ र हेटौंडा–४, कै सवारी ज्यान मुद्धामा कैद सजाय भुक्तान गरिरहेका सुमन विश्वकर्माको बाँकी कैदसजाय राष्ट्रपतिले मिनाहा गरिदिएसँगै उनीहरु भीमफेदी कारागारबाट छुटेको कारागारका नायब सुब्बा केदारप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यस्तै भीमफेदी कारागारबाट स्याङजा जिल्लाको साविक क्याक्मी गाविसका कर्तव्य ज्यान मुद्धामा कैद सजाय बिताइरहेका गणेश बहादुर कामी, नुवाकोट जिल्लाको बेलकोट नगरपालिकाका डाँकाचोरी मुद्धामा कैद सजाय बिताइरहेका आशाराम भनिने दिनेश तामाङ पनि बाँकीकैद मिनाहा भएसँगै उनीहरु भीमफेदी कारागारबाट छुटेका उहाँले बताउनुभयो ।

मन्त्रीपरिपरिषदको सिफारिसमा नेपालमा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, संविधान दिवस लगायतमा राष्ट्रपतिले कैदीबन्दीहरुको बाँकी कैद मिनाह गर्दै आउनुभएको छ । शनिबर संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदी कारागारबाट बाँकी कैद सजाय मिनाहाको लागि सिफारिस गरिएको १२ कैदीबन्दीको कैद भुक्तानी मिनाहा भने अस्विकृत भएको छ । संविधान दिवसको अवसरमा भीमफेदी कारागारबाट १७ जना कैदीबन्दीको बाँकी कैद मिनाहा गर्न सिफारिस भएको थियो । उनीहरुमध्ये ५ जनाको मात्रै स्वीकृत भएको कारागारका नासु सापकोटाले बताउनुयभो ।

बाँकी कैद मिनाहाको लागि सिफारिस भएका डाँकामुद्धाका १ जना कैदीबन्दी, चोरी मुद्धामा कैद जिवन बिताइरहेको १ जना, कर्तव्य ज्यान मुद्धामा कैद जिवन बिताइरहेका ५ जना, जर्वजस्ती करणी मुद्धाका ४ जना र लागूऔषध मुद्धाका १ जना कैदीबन्दीको कैद मिनाहा अस्विकृत भएको भीमफेदी कारागारका नायब सुब्बा केदारप्रसाद सापकोटाले बताउनुभयो ।