हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गर्ने भएको छ । बैकल्पिक शिक्षा सम्बन्धी विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गर्न लागिएको नगर शिक्षा प्रमुख पूर्णबहादुर अछामीले बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जारी निर्देर्शीका बमोजिम चालु शैक्षिक सत्र २०७७ को पठनपाठन सञ्चालन गर्नका लागि स्थानीय तहले कार्ययोजन तयार गर्नुपर्ने भएको प्रमुख अछामीले बताउनुभयो । कार्ययोजना तयार गर्न आवश्यक सुझाव लिन प्रअहरुसँग अन्तरक्रिया गर्न लागिएको उहाँको भनाई छ ।
उहाँका अनुसार नगरभित्रका आधारभूत तहका सामुदायिक विद्यालयका प्रअहरुको बैठक सिद्धार्थ माविको सभाहलमा भोलि सोमबार हुनेछ । त्यस्तै नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका मावि तहका प्रअहरुको बैठक असोज ७ गते सिद्धार्थ माविमा हुने तय भएको छ ।
यस्तै नगरभित्रका संस्थागत विद्यालयहरुको प्रअ बैठक पर्सी मंगलबार तुलसी मेहर बोर्डिङ स्कुलमा हुने भएको हो । हेटौंडा उपमहानगरपालिकाले सम्पूर्ण प्रधानाध्यापकहरुको सुझावलाई समेटेर पठनपाठनको कार्ययोजना तयार पार्ने नगर शिक्षा प्रमुख अछामीले बताउनुभयो ।