हेटौंडाः हेटौंडा–१० बुद्धमार्गस्थित तेज गार्मेन्ट उद्योग परिवारले आज विश्वकर्मा पुजाको अवसरमा हेटौंडाको मामाघर नेपाललाई कपडा सहयोग गरेको छ । विश्वकर्मा पुजा पश्चात पुजाको प्रसादसहित कपडा र मास्क सहयोग गरिएको उद्योगका प्रोप्राइटर तेजराज अधिकारीले बताउनुभयो ।
तेज गार्मेन्ट उद्योग परिवारले मामाघर नेपालका १९ जना भाञ्जाहरुलाई १/१ सेट सट—पाइन्ट र २ जना भान्छेहरुलाई एक १/१ सेट कुर्ता सुरुवाल प्रदान गरेको हो । उद्योगमा विश्वकर्माको पुजा गरेर पुजाको प्रसादी र १ सय पिस सर्जिकल मास्क पनि मामाघर नेपाललाई प्रदान गरिएको उद्योगका प्रोप्राइटर अधिकारीले बताउनुभयो । नजिकिँदै गरेको नेपालीहरुको प्रमुख चाड दशैंलाई लक्षित गरी नयाँ कपडा प्रदान गरिएको उहाँले बताउनुभयो । कपडा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई हस्तान्तरण गरिएको हो । तेज गार्मेन्ट उद्योग परिवारका प्रोप्राइटर अधिकारी मकवानपुर तयारी पोशाक व्यवसायी संघका अध्यक्ष समेत हुनुहुन्छ ।