हेटौंडाः शिक्षण सिकाई प्रक्रियामा सहभागीका गराउनका लागि हेटौंडा उपमहानगरपालिकाले नगरका विद्यार्थीहरुको वर्गीकरण गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिकाले नगर भित्रका सम्पुर्ण विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको वर्गीकरण गरी अभिलेख राख्न विद्यालयहरुलाई भनेको छ भने समुहगत विवरण तथा समष्टिगत विवरण तयार गरेर उपमहानगरपालिकामा पेश गर्न सम्पूर्ण विद्यालयहरुलाइ निर्देशन दिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले यही असोज १५ गते भित्र विद्यार्थीको समष्टिगत विवरण बुझाउन विद्यालयहरुलाई अनुरोध गरेको छ । उपमहागरपालिकाले प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीको समुहलाई ‘क’ वर्गमा, रेडियो एफएममा पहुँच भएका विद्यार्थीको समुहलाई ‘ख’ वर्गमा, टेलिभिजनमा पहुँच भएका विद्यार्थीको समुहलाई ‘ग’ वर्ग, कम्प्युटर भएको तर अलनाइन कनेक्टिभिटि नभएका विद्यार्थीको समुहलाई ‘घ’ वर्ग र इन्टरनेट तथा सुचना सञ्चार प्रविद्यिको साधनमा पहुँच भएका विद्यार्थीको समुहलाई ‘ङ’ वर्गमा वर्गिकरण गरेर पठाउन भनेको छ ।

कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई शिक्षण सिकाई सहजीकरणमा जोड्न यस्तो माग गरिएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा प्रमुख पूर्णबहादुर अछामीले बताउनुभयो । विद्यार्थी सिकाई सहजीकरण, २०७७ कार्यान्वयन गर्न हेटौंडा उपमहानगरपालिकाले सम्पूर्ण विद्यालय तथा अभिभावकहरुलाई अनुरोध गरेको छ ।

यस्तै प्याब्सन मकवानपुरका कार्यबाहक अध्यक्ष विनोद सुवेदी, नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, नेपाल राष्ट्रिय अभिभावक संघ मकवापनुरका अध्यक्ष धुव्र प्रसाद चौलागाईले संयुक्त अभिभावक तथा विद्यार्थीहरुलाई आह्वान गर्दै विद्यालयमा सम्पर्क गरेर सिकाई सहजीकरण पद्धतीमा सहभागि हुन पनि अनुरोध गर्नुभएको छ ।