हेटौंडाः बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लामा न्यून संख्यामा सरकारी भवनहरु निर्माण भइरहेका छन् । विशेष गरेर २०७२ सालको भूकम्पले जिल्लामा सरकारी भवनहरुमा पनि क्षति पुर्‍याए तापनि त्यसको सामान्य मर्मत मात्र भएको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ ।

थोरै लागतका खर्च हुने भवनहरु (२५ हजारदेखि ३५ हजार) रुपैया सम्मको लागतमा हुने सरकारी भवनहरुको मर्मत कार्य भएको शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख सञ्जय पाण्डेले बताउनुभयो । उहाका अनुसार जिल्लामा २० देखि २५ वटा सरकारी भवनहरुको गत वर्षमा सामान्य मर्मत भएको छ । यस्तै भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरले अहिले जिल्लामा १ मात्र सरकारी भवनको पुनर्निर्माण गर्दैछ । १३ करोडको लागतमा भवन कार्यालयले २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको सरकारी भवनहरु मध्ये मकवानपुरको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको भवनको निर्माण कार्य गरिरहेको छ । ५ तल्ले भवनको काम सुरु भएर अहिले ३० प्रतिशत काम सम्पन्न भइसकेको जिल्ला कार्यान्वयन इकाई भवनका प्रमुख तुलसीराम तरभूजनाले जानकारी दिनुभयो । गत वर्षको माघमा सम्झौता भएको उक्त सरकारी भवन आगामी वर्षको माघमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

कोरोना कहरका कारण भवन निर्माणको काम केही समय रोकिए पनि अहिले पुनः गति लिएको उहाको भनाइ छ । उक्त भवनको मकवानपुर जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाहरुले पनि निरीक्षण गर्दै आएको छ । सरकारी तवरबाट बन्ने उक्त भवन भूकम्प पुनर्निर्माण प्राधिकरणको १३ करोडको लागतमा बन्ने र खाद्य प्रविधिसग पनि साझेदारी नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका सूचना अधिकारी श्रृजना महर्जनले बताउनुभयो । भवनमा भइरहेको प्राविधिक सहितको कार्य सबै भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वय इकाई भवनले नै हेर्दै आएको प्रमुख तरभूजनाले बताउनुभयो । तोकिएको समयमा नै भवनको निर्माण गरेर हस्तान्तरण गर्ने तयारी गरेको उहाले बताउनुभयो ।

चालु वर्षमा मकवानपुर जिल्लामा केही सरकारी भवनहरु निर्माणाधीन छन् भने केही भवनको टेण्डर निकाल्ने तयारीमा रहेका छन् । मकवानपुरमा जिल्लामा हाल जिल्ला प्रशासन कार्यालय मकवानपुरको भवनको निर्माण कार्य चलिरहेको छ भने जिल्ला अदालत मकवानपुरको भवन निर्माण प्रक्रियामा रहेको छ । केन्द्र सरकारको लागतमा भवन बन्ने भएपनि जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्माणाधीनको भवनको प्राविधिकको जिम्मा भने शहरी विकास तथा भवन कार्यालय मकवानपुरले पाएको छ । जिल्ला प्रशासन कार्यालयको भवनको काम अन्तिम चरणमा भइरहेको छ । ४ करोड ७२ लाखमा सम्झौता भएको उक्त भवनको हालसम्म ३ करोड २७ लाख भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । अहिले भवनको सम्पूर्ण प्राविधिकको काम भने भवन कार्यालय मकवानपुरले गर्ने गरेको प्रमुख पाण्डेको भनाइ छ । मकवानपुरमा सहरी विकास तथ भवन कार्यालय मातहतका प्राविधिक जनशक्ति न्यून हुदा समस्या भएको उहाले बताउनुभयो ।

त्यस्तै जिल्लामा चालु वर्षको दशैं तिहारपछि बागमती प्रदेश सरकारको खर्चमा २ ठूला सभाहलको भवन निर्माण हुने भएको छ । ७\७ करोडको लागतमा बन्ने सभाहलको भवन सुविधासम्पन्न हुने र डेढ वर्षसम्म निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । हालको कोरोना भाइरसको विषम् परिस्थिति रहेकोले हल निर्माणको टेण्डर निकाल्न सकिएको छैन । दशैं तिहारपछि बागमती प्रदेश सरकारले सभाहल निर्माणका लागि टेण्डर निकाल्ने तयारी गरेको छ । प्रदेश सरकारले कात्तिकमा टेण्डर निकालेर काम सुरु गर्ने भएकोे शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख पाण्डेले बताउनुभयो । चालु वर्षमा मुख्यमन्त्री कार्यालयको सभाहलको भवन र बागमती प्रदेशको प्रदेश सभाको सुविधासम्पन्न सभाहलको भवन निर्माण कार्य सुरु हुने भएको हो । मकवानपुर जिल्लामा संघ मातहतका सरकारी भवनहरु भवन कार्यालय चितवन र प्रदेश सरकारको रुपमा बन्ने सरकारी भवनहरु शहरी विकास तथा भवन कार्यालय मातहत निर्माण हुने गरेका छन् ।

जिल्लामा सरकारी भवनहरुको निर्माणको क्रममा स्थानीय तह भने अगाडि रहेका छन् । स्थानीय तहका विभिन्न वडा कार्यालयहरुको भवनहरु पनि निर्माण कार्य भइरहेको छ । मकवानपुरको मनहरी गाउपालिकामा निर्माणाधीन ७ वटा वडा कार्यालयको भवनको काम अब केही दिनमा सुरु हुने भएको छ । कोरोना भाइरस कारण शिलान्यास भएर रोकिएको निर्माण कार्य पुनः सञ्चालन हुने लागेको मनहरी गाउपालिकाका प्रमुख एकराज उप्रेतीले बताउनुभयो । मनहरी गाउपालिकामा ७ वडा वडा कार्यालयको भवनको निर्माण कार्य जारी छ । जिल्लाको कैलाश गाउपालिका कार्यालयको भवन निर्माणको कार्य सुरु हुने भएको छ । सुविधासम्पन्न भूकम्पप्रतिरोधी भवन बनाउन गाउपालिको टेण्डर जारी गरेर सम्झौता पनि भइसकेको जनाएको छ । अब केही दिनमै भवनको निर्माण कार्य सुरु गरिने कैलाश गाउपालिकाका अध्यक्ष टंक मुक्तानले बताउनुभयो । उहाका अनुसार सरकारी भवन बनाउन डिजाइन, इन्फ्रास्ट्रक्चर, प्राविधिकसहितको टोलीको काम सकिएपछि मात्र निर्माण कार्य सुरुहुने हुदा केही समय ढिलाई भएको छ ।

मकवानपुर जिल्लामा जिल्ला समन्वय समिति मकवानपुरको साझेदारीमा पनि स्थानीय तहका सरकारी भवन निर्माण कार्य भइरहेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा भीमफेदी गाउपालिकाको भवन निर्माण कार्य भइरहेको छ । यस्तै जिल्लामा जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण भएका सरकारी विद्यालय भवनको निर्माण कार्यको अनुगमन जिल्ला समन्वय समिति मकवानपुर, गैसस, भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (शिक्षा) लगायतले गर्दै आएका छन् ।