हेटौंडाः हेटौंडा–४ कर्रास्थित आइसोलेसनबाट आइतबार २ सय ३ जनाको स्वाब सङ्कलन गरिएको छ । २ सय ३ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी हेटौंडा-१० स्थित प्रादेशिक कोरोना परीक्षण प्रयोगशालामा पठाइएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डले एकैदिन यत्तिधेरै स्वाब संकलन गरेको पहिलो पटक हो । कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मागका आधारमा स्वाब संकलन गर्ने हो भने अझै धेरै स्वाब संकलन गर्नुपर्ने अवस्था रहेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईको भनाइ छ ।
संक्रमण बढेसँगै स्वाब परीक्षणका लागि आउनेको संख्या पनि बढ्दो क्रममा छ । संक्रमितको सम्पर्कमा आएकाहरु सबैको परीक्षणका लागि स्वाब संकलन गर्न स्वाब संकलन गर्ने भाँडा (भिटिएम) को अभाव छ’, जनस्वास्थ्य निरीक्षक चौलागाईले भन्नुभयो । शनिबार स्वाब संकलन नगरिएका कारण पनि केही संख्या बढेको जानकारी दिनुहुदैँ चौलागाईले हरेक दिन २० देखि ३० जनालाई रोक्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । आइतबार सङ्कलन गरिएको स्वाबमा कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान (कन्ट्रयाक ट्रेसिङ) गरी कोरोना सङ्क्रमण परीक्षणका लागि १ सय ४१ जनाको नयाँ स्वाब सङ्कलन गरिएको छ । त्यस्तै पुनः कोरोना परीक्षणका लागि ६२ जनाको स्वाब सङ्कलन गरिएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो । ६२ जना मध्ये ३० जना हेटौंडा-६ को गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन् भने ३२ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् । आइतबार सङ्कलन गरिएको २ सय ३ जना मध्ये १ सय ४६ जना पुरुषको र ५७ वटा महिलाको स्वाब रहेको छ ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिकामा पनि आइतबार कोरोना भाइरस परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । आइतबार बिहान मनहरी गाउपालिकामा ६० जना र थाहा नगरपालिकामा ९ जनाको स्वाब सङ्कलन गरेर हेटौंडा-१० स्थित प्रादेशिक कोरोना परीक्षण प्रयोगशालामा पठाइएको छ । मनहरी गाउँपालिकामा कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाको पहिचान गरी कोरोना परीक्षणका लागि ५६ जनाको र उपचाररत रहेका कोरोना सङ्क्रमितहरुको पुनः परीक्षणका लागि ४ जनाको स्वाब सङ्कलन गरिएको गाउपालिकाका सिनियर अहेब ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।
आइतबार नया सङ्कलन गरिएको ५६ वटा स्वाब नमुनामा ३० जना पुरुष र २६ जना महिलाको रहेको अहेब लुइटेलले बताउनुभयो । त्यस्तै पुनः परीक्षणका लागि ३ जना पुरुष र १ महिलाको स्वाब सङ्कलन गरिएको हो । मनहरी गाउँपालिकामा हाल १४ जना करोना सङ्क्रमित उपचाररत छन् । ती मध्ये १३ जना मनहरी-८ चिसापानीको आइसोलेसनमा उपचाररत रहेका छन् भने १ जना होम आइसोलेसनमा उपचाररत छन् ।
थाहा नगरपालिकामा ९ जनाको स्वाब सङ्कलन गरिएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी ९ जनाको स्वाब सङ्कलन गरेर हेटौंडा-१० स्थित प्रादेशिक कोरोना परीक्षण प्रयोगशालामा पठाइएको छ । स्वाब सङ्कलन गरिएको ९ जना थाहा नगरपालिका वडा नम्बर ६ स्थित अध्याय रिट्रिट रिसोर्टको क्वारेन्टाइनमा रहेका थिए । थाहा नगरपालिकामा हालसम्म १७ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १७ जना मध्ये १५ जनाले कोरोनालाई जितिसकेका छन् । २ जना सक्रिय सङ्क्रमित भने हेटौंडा-६, गौरिटारस्थित आइसोलेसन वार्डमा उपचाररत छन् ।
त्यस्तै मकवानपुरको कैलाश गाउँपालिकामा आइतबार स्वाब संकलन गरिने भनिए पनि स्वाब संकलन कार्य हुन सकेन । आज सोमबार स्वाब सङ्कलन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर १० को भालटार र बेतिनी गाउँमा कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर महतोले जानकारी दिनुभयो । कैलाश गाउँपालिकामा हालसम्म ४ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा एक जना उपचार भएर घर फर्किसकेका छन भने ३ जना हेटौंडा-६, गौरिटारस्थित आइसोलेसन वार्डमामा उपचाररत रहेका छन् ।