हेटौंडाः मकवानपुरका ३ स्थानीय तहबाट आज २ सय ७२ स्वाबको नमूना सङ्कलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकाले आज स्वाब सङ्कलन गरेर हेटौंडा–१० को किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र स्थित प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षण गर्न पठाएको हो ।

आज हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट २ सय ३ जनाको स्वाबको नमूना सङ्कलन गरिएको आइसोलसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो ।

यस्तैै थाहा नगरपालिकामा ९ जनाको स्वाबको नमूना सङ्कलन भएको छ भने मनहरी गाउँपालिकामा ६० जनाको स्वाब नमूना सङ्कलन भएको मनहरी गाउँपालिकाका सिनियर अहेब ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।