हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाउनका लागि सरोकारवालासँग छलफल भएको छ । १२ नम्बर वडा अध्यक्ष ललित घलानको सभाध्यक्षतामा भएको छलफलमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य रहेको थियो ।

कोरोना भाइरसको हालको अवस्था, जनजीवनमा परिरहेको असर, भोलिका दिनमा पर्ने असर, अपनाउनुपर्ने सुरक्षा सतर्कता लगायतका विषयमा छलफल भएको छ । छलफलमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जिल्लामा हाल कोरोना सङ्क्रमणको अवस्था, भाइरसलाई जित्न गर्नुपर्ने उपायहरु, योग अभ्यास लगायतका बारेमा जानकारी दिनुभएको थियो । छलफलबाट विभिन्न कामकाजहरु पनि नरोक्ने, व्यवसाय सञ्चालन गर्ने, सङ्क्रमण फैलिन नदिन सुरक्षाका सबै नियमहरु अपनाउन वडावासीलाई सचेत गराउने निर्णय भएको वडा अध्यक्ष ललित घलानले बताउनुभयो ।

उहाँले अब व्यवसाय पनि बन्द नगर्ने सङ्क्रमण पनि फैलन नदिने हिसाबले अगाडि बढ्ने बताउनुभयो । छलफलमा वडा सदस्यहरु रुकमिणी गोङ्बा, भुवन खनाल, लिला बिक, नेकपाका वडा समिति अध्यक्ष पूण्यसिद्धि लामा, नेपाली कांगे्रसका वडा सभापति सिताराम पाख्रिन, राप्रपाका वडा समिति अध्यक्ष जगत घले, वडा समन्वय समितिका प्रमुख राजेश नगरकोटी लगायतको उपस्थिति रहेको थियो ।

,,,,,,,,