हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा एक ज्येष्ठ नागरिकलाई एकसाथ तीनवटा वडाबाट सामाजिक सुरक्षाभत्ता वापतको रकम भुक्तानी भएको पाइएको छ । मनहरी गाउँपालिका वडा नम्बर १ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५/७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षाभत्ता वडा नम्बर १, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो ।

तीन वटै वडाबाट एउटै व्यक्तिको खातामा दोस्रो पटक सामाजिक सुरक्षाभत्ता भुक्तानी भएको पाइएपछि बैंकले पालिकालाई खबर गरेको थियो । बैंकले जानकारी गराएपछि दोस्रो पटक लाभग्राहीको खातामा गएको रकम रोक्का गरेर पालिकाले लाभग्राहीलाई बढी भुक्तानी भएको रकम दाखिला समेत गराइसकेको मनहरी गाउँपालिकाकी लेखाअधिकृत संगीता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ३ नम्बर वडाबाट वडा नम्बर १ मा बसाई सरेर गएकोले पुरानो लगतकट्टा नहुँदा दुईवटा वडाबाट सामाजिक सुरक्षाभत्ता गएको भए सामान्य समस्या भयो भन्ने हुन्थ्यो तर, वडा नम्बर ७ बाट समेत भुक्तानी भएकोले के समस्या भएको भन्नेमा आफूहरु पनि आश्चर्यमा परेको लेखाअधिकृत अधिकारीले बताउनुभयो ।

मनहरी गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष शिव खनालकी आमाको नाममा तीन वटा वडाबाट सामाजिक सुरक्षाभत्ता गएको भन्ने थाहा पाएपछि अहिले मनहरीका युवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् । भुक्तानीमा समस्या भए पनि समस्या समाधान भइसकेको विषयमा स्थानीय युवाको चासो देखिएपछि मनहरी गाउँपालिकाले छानविन गर्न समिति बनाउन लागेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ । मनहरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिव खनालले आमाको नाममा तीन वटा वडाबाट सामाजिक सुरक्षाभत्ता भुक्तानी भएको भन्ने थाहा पाएपछि गत आर्थिक वर्षमै बढी भुक्तानी भएर आएको रकम पालिकाकै खातामा दाखिला गरिएको बताउनुभयो । गाउँपालिकाले बढी भुक्तानी भएर आएको भन्ने जानकारी गराएपछि बढी भुक्तानी भएर आएको १६ हजार रुपैयाँ पालिकाकै खातामा जम्मा गरिदिएको वडा अध्यक्ष खनालले बताउनुभएको छ । मनहरी गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता लाभग्राहीको सङ्ख्या तीनहजार दुईसय भन्दा बढी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।