नेपालमा हरेक बर्षको भाद्र २२ गते देशभर विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइदै आएको छ । बिसं २०६२ सालबाट यस दिवसको शुरुवात भएको हो । तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । सोही सन्दर्भमा रहेर आज मकवानपुर कर्मचारी मिलन केन्द्रका अध्यक्ष बद्रिबहादुर पाठकसँग समाज संवाददाता संगी लामाले गर्नुभएको कुराकानीः

समाजः आज निजामती सेवा दिवस । मकवानपुरमा कसरी मनाउदै हुनुहुन्छ ?

पाठकः आज निजामती सेवा दिवस हो । स्वाच्छ र सक्षम निजामती प्रशासन समृद्धि र सुशासन भन्ने यो वर्षको आदर्श वाक्य छ । संघीय सामान्य प्रशासन मन्त्रालयले अहिलेको कोभिड–१९ को महामारी र सङ्क्रमणको जोखिम भएकोले कुनै जिल्लास्तरीय समारोह नगर्न, आ–आफ्नो कार्यालयहरुमा कर्मचारीहरु राखेर निजामती दिवसको सान्दर्भिकता बारे कुरा गर्ने भनिएकोले आज सोही गरिएको छ । ट्रेड युनियनको सवालमा चाहि आज प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सानो कार्यक्रम भएको छ । यसरी आज सबै कार्यालयहरुमा यो दिवस मनाइएको छ ।

समाजः निजामती सेवा दिवस मनाइरहँदा अहिले नागरिकहरु कर्मचारीप्रति खुशि देखिदैनन् । कर्मचारीहरुको भष्टाचारको कुरा पनि बाहिर आइरहेका छन् नी ?
पाठकः यो कुरा ठिक हो । यो ८०/९० हजार कर्मचारीभित्र कर्मचारीको एउटा आचारण, एउटा व्यवहार, सेवाग्राहीप्रति गर्नुपर्ने व्यवहार, इमान्दारिता हुनुपर्ने हाम्रो ऐन बनेका छन् । तर फरक केही ठाउँमा त्यस्ता गलत खालका क्रियाकलाप पनि कर्मचारीमा देखिएका छन् । यो गलत क्रियाकलाप हो । कर्मचारी भएर निजामती क्षेत्रमा आइसकेपछि सपथ ग्रहण गरेअनुसार आचारण देखाउनुपर्छ । यसो भन्दैमा सबै कर्मचारीहरु गलत छन् भन्ने होइन ।

समाजः यो दिवसले इमान्दार भएर काम गर्नका लागि कर्मचारीहरुलाई कस्तो हौसला प्रदान गर्छ ?पाठकः यसको दुईओटा पाटा छन् । एउटा निष्ठावान भएर काम गरेको कर्मचारीले पुरस्कृत भएर त्यो खालकोे मनोबल प्राप्त भयो भने अगामी दिनमा हरेक काम गर्न हौसला दिन्छ । अर्को पाटोमा निजामती पुरस्कार छनौटदेखि लिए अन्य कुरामा दबाब भयो भने निजामती कर्मचारीको सही मुल्यांकन गर्न नसक्दा यसले गलत सन्देश दिन्छ । अहिलेको सन्दर्भमा निजामती दिवसले प्रशासनिक निष्ठा, निष्पक्षता, पारदर्शिता र सुशासन दिन चाहीँ यसले हामीलाई प्रेरणा दिन्छ ।

समाजः अन्त्यमा निजामती कर्मचारी दिवसको महत्व के छ ?

पाठकः निजामती सेवामा पनि विभिन्न खालका सेवा समूहहरु छन् । सरकारको स्थायी संरचना निजामती सेवा पनि हो । सरकारको निर्णय कामहरु जनतासमक्ष पुर्‍याउन कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । अहिलेको संघीयतामा निजामती कर्मचारीहरु तिनै तहको सरकार ( स्थानिय, प्रदेश र संघ) मा समायोजन भएको छ । समायोजन भए पनि सबै कर्मचारीहरुको भावनात्मक एकता जगाउन र काममा एकता बनाउन यो दिवसले सहयोग गर्छ ।