दशकौंदेखि भारतले विभिन्न क्षेत्रमा नेपालको भूभाग अतिक्रमण गर्दै आएको छ । पूर्व, दक्षिण र पश्चिम तीनतिर भारतसँग सीमा जोडिएका कारण नेपाल र भारतबिचको सिमाना करिब एक हजार ९ सय किलोमिटर छ । नेपाल र भारतबिचको सीमा कतै नदी रहेको भए पनि अधिकांश जमिनकै भागलाई सीमा मानिएको छ । नेपाल–भारतबिच सीमा क्षेत्रलाई दशगजा भनिन्छ । दशगजाको ठाउँ–ठाउँमा सीमास्तम्भ राखेर यस क्षेत्रलाई दुबै देशले खाली राख्नुपर्ने भनिए पनि कतिपय ठाउँमा दशगजा क्षेत्र नै अतिक्रमणमा परेको छ । धेरै ठाउँमा भारतले नेपालको भूभाग कब्जा गरेको भन्दै नेपाल–भारतको सीमा विवाद अन्त्य गर्नुपर्ने विषय दशकौँदेखि चर्चामा मात्र सीमित बनिरहेको छ । विगत लामो समयदेखि नेपाल–भारतबिचको सीमा विवादलाई राजनीति गर्ने माध्यममात्र बनाइरहेको परिप्रेक्षमा अहिले सीमा विवादको विषय फेरि बल्झिएको छ ।

आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारतबिचको सीमा विवादका बारेमा बोलेको कुरालाई धेरैले चासो र चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले दिएको सीमा विवादबारेको अभिव्यक्ति विवादितसमेत बनेको छ । उनले नेपाल र नेपाली नै कमजोर हुने दिएको अभिव्यक्तिले नेपाल–भारत सीमा विवादको विषय चर्केको मात्र छैन, धेरैतिर बिरोधसमेत भइरहेको छ । प्रतिनिधिसभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले ‘भारतले नेपालको जग्गामात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेपछि यसको बिरोध भएको हो । प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएको भन्दै दुबै देशले अध्ययन गरेर सँगै बसेर समाधान गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिबाट विपक्षी दलहरुमात्र होइन सीमाविद् र परराष्ट्रविद्ले समेत बिरोध गरेका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिको प्रतिनिधिसभा, राष्ट्रियसभा, बागमती प्रदेशसभामा समेत विरोध भएको छ । प्रधानमन्त्रीले नेपालको बचाउ गर्नुपर्नेमा उल्टै भारतलाई हित हुनेगरी नेपालले पनि सीमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि सीमाबासी र आम नेपाली दुःखी बनेका छन् । प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति दिनुको पछाडि कूटनीतिक तथा राजनीतिक कारण होला भनेर चित्त बुझाउने जमात निकै कम देखिएको छ । खुला सीमा भएका र सीमा विवाद उचित ढङ्गले समाधान गर्न नसकेको अवस्थामा दुबै देशको तर्फबाट सीमा मिचिएको हुनसक्ने सम्भावना रहे पनि प्रधानमन्त्रीले संसदमा आफ्नो देशलाई नै कमजोर बनाउने गरी अभिव्यक्ति दिन नहुने तर्क अधिकांशको छ ।

विगतका विभिन्न समयमा नेपाल–भारतबिचको सीमास्तम्भ निर्माण तथा मर्मत गर्ने क्रममा धेरै क्षेत्रमा नेपाली भूभाग भारतमा परेको प्रशस्तै उदाहरण छन् । यसबाट केही क्षेत्रमा नेपालले भारतको सीमा मिचेकोजस्तो देखिए पनि त्यतिकै आधारमा नेपालले भारतको सीमा मिचेको भन्न सकिँदैन । वर्षौंदेखि नेपालीले भोगचलन गर्दै आएको व्यक्तिगत नम्बरी जग्गा भारतमा पर्ने गरी सीमास्तम्भ राख्दैमा नेपालले सीमा मिचेको हुँदैन । विगतका सन्धि, सम्झौताका दस्तावेज तथा आधिकारिक नक्साको आधारमा दुबै देशका विज्ञसहितको टोलीले पर्याप्त अध्ययन र सर्वेक्षण गरेरमात्र सीमा विवाद समाधान हुन सक्छ । एक पक्षले बोलेकै भरमा वा सीमास्तम्भ गाडेकै भरमा सीमा मिचिएको भन्नु उचित हुँदैन । प्रधानमन्त्रीले संसदमा पुगेर भारतले मात्र होइन नेपालले पनि सीमा मिचेको अभिव्यक्ति देशको हितविपरित देखिन्छ । यसले सीमा विवाद चर्कने निश्चित भएकाले वर्तमान सरकारले चाँडो भन्दा चाँडो दशकौँदेखि थाँती रहेको नेपाल–भारतबिचको सीमा विवाद समाधान गर्न उचित पहल गर्नु आवश्यक छ । भारतले अतिक्रमण गरेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत क्षेत्रसमेतको सीमा विवाद समाधान गर्नुपर्नेमा प्रधानमन्त्री स्वयम्ले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्दै हिँड्दा सीमा विवाद झन् बल्झने निश्चित छ ।