लामो समयको प्रतीक्षापछि गौरीटार रंगशालामा क्रिकेट मैदान तयार भएको छ । बागमती प्रदेश सरकारको लगानीमा तयार भएको क्रिकेट मैदानको उद्घाटनसँगै बागमती प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगितासमेत सुरु भएको छ । हेटौँडा–६ स्थित गौरीटार रंगशालामा २ वर्ष लगाएर निर्माण गरिएको क्रिकेट मैदानको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । उनले गौरीटार रंगशालालाई अन्तर्राष्ट्रियस्तरको खेलकुद केन्द्रका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गौरीटार रंगशालामा फुटबल मैदान तथा पौडी पोखरीसमेत निर्माण गरिरहेको प्रदेश सरकारले रंगशालालाई प्रदेश गौरवको आयोजनाको रुपमा अघि बढाउने मुख्यमन्त्री बानियाँको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटमा क्रिकेट मैदानलाई अझ व्यवस्थित बनाएर प्यारापिट निर्माणका लागि विशेष प्राथमिकता दिने उनले प्रतिवद्धता जनाएका छन् ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि गौरीटार क्रिकेट मैदानलाई रंगशालाको रुपमा विकास गरी बागमती प्रदेशको क्रिकेट ‘हब’ बनाउने बताएका छन् । गौरीटार रंगशालामा निर्माण गरिएको क्रिकेट मैदान क्रिकेट क्षेत्रका लागि ऐतिहासिक क्षण भएको बताएका हुन् । विगतमा हेटौँडाको हुप्रचौरमा एउटै मैदानमा धेरै खेलहरु खेल्नुपर्ने बाध्यता अन्त्य भएको बताएका छन् । गौरीटार रंगशालामा क्रिकेट मैदान तयार भएपछि क्रिकेटका खेलाडीले आफ्नै छुट्टै मैदान पाएको उनले बताए । बागमती प्रदेशले पहिलो पटक आफ्नै क्रिकेट मैदान पाएको भन्दै सचिव खड्काले यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन र ठूला प्रतियोगिताहरु आयोजना गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
गत बैशाखमा निर्माण सम्पन्न भएको क्रिकेट मैदानका लागि ११ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । ५ वटा पिचसहितको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदान निर्माण गरिएको बताइएको छ । २०८० चैतमा क्रिकेट मैदान निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो । मैदानमा ७० मिटर अर्धव्यासको खेल क्षेत्र रहेको छ । जसमा आधुनिक भूमिगत ड्रेनेज प्रणाली जडान गरिएको र मैदानमा गुणस्तरीय ‘बर्मुडा दुबो’ लगाइएको छ । हाल ६ सय दर्शक क्षमताको प्यारापिट, भीभीआईपी कक्ष, खेलाडी चेन्जिङ रुम, मिडिया कक्ष, टेलिभिजन तथा रेडियो प्रसारण कक्ष र अपांगमैत्री संरचना निर्माण गरिएको छ । रंगशालाभित्र क्रिकेट मैदानका साथै अन्य खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गर्दै आएको छ । भविष्यमा हेल्थ डेक्स र सिन्थेटिक ट्रयाकजस्ता पूर्वाधारहरु निर्माण गरेर यसलाई बहुउद्देश्यीय बनाउने योजना प्रदेश सरकारको छ । राष्ट्रिय तथा प्रदेशस्तरीय खेलहरु हेटौँडामा आयोजना गर्न सकिने खेल पूर्वाधार निर्माणमा गर्ने योजनासमेत प्रदेश सरकारको छ ।
हेटौँडामा खेल पूर्वाधार विकासको उच्च सम्भावना छ । देशको मध्य भागमा रहेको हेटौँडा बागमती प्रदेशको राजधानीसमेत भएकाले हेटौँडामा खेल पूर्वाधार विकास गर्नु उपयुक्त देखिन्छ । तराई÷मधेश द्रुतमार्ग निर्माणपछि करिब एक घण्टामै संघीय राजधानीबाट हेटाँैडाको गौरीटार रंगशाला आउन सकिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलसमेत यहाँ आयोजना गर्न सकिन्छ । निर्माणाधीन गौरीटार रंगशालामा स्तरीय खेल पूर्वाधार निर्माणमा प्रदेश तथा संघ सरकारले पर्याप्त ध्यान दिने हो भने हेटौँडा क्रिकेटमात्र होइन अन्य खेलको पनि हब बन्न सक्ने सम्भावना रहेको छ । गौरीटारको क्रिकेट मैदानलाई अझ स्तरीय बनाएर रंगशालाको रुपमा विकास गर्न सकेमा क्रिकेट खेलकै कारण हेटोँडाको पहिचान वृद्धि हुने आशा गर्न सकिन्छ ।











