हेटौँडा : नेपाल सरकारका पूर्वसचिव एवम् सहरी विकासविद् किशोर थापाले हेटौँडा सवारी चालक र श्रमिकको सम्मान हुने सहरको रुपमा स्थापित हुनुपर्ने बताउनुभएको छ । देशको मध्य भागमा रहेर कुनै बेला एक घर एक सवारी चालक, सवारी साधन भएको हेटौँडाले सवारी चालकको सम्मान हुने सहरको रुपमा विकसित गर्दै लैजानुपर्ने बताउनुभएको हो । यस्तै देशमै औद्योगिक सहर भनेर पनि चिनिने हेटौँडालाीई श्रमिकको सम्मान हुने सहरको रुपमा पनि स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।
हेटौँडा उपमहानगरपालिकाको आयोजनामा सोमबार भएको ‘समृद्ध हेटौँडा बहस’ अन्तर्गत ‘हेटौँडाको विकास र अबको प्राथमिकता’ विषयक् समूह छलफलमा सहभागी हुनुभएका पूर्वसचिव तथा सहरी विकासविद् थापाले देशभर १७ वटा मात्रै सहर रहेको र त्यसमध्ये हेटौँडा पनि एक भएकाले आआफ्नो मौलिकताअनुसार सहरको विकास र विस्तार गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । हेटौँडाको आफ्नो मौलिक परिचय, पहिचान सवारी चालक र औद्योगिक श्रमिकको सम्मान हुने सहरको रुपमा विकसित गर्नुपर्नेमा उहाँले हेटौँडा उपमहानगरलाई सुझाव दिनुभयो । उहाँले हेटौँडा उपमहानगरले एउटा पालिकाको रुपमा मात्रै आफूलाई नबुझी बागमती प्रदेशको राजधानी सहरको रुपमा बुझेर उपमहानगरभन्दा माथि उठेर काम गर्न जरुरी रहेको औँल्याउनुभयो । हेटौँडा सहरको विकासमा प्रदेश, संघ सरकारसँगै अन्तर्राष्ट्रिय दातृ निकायसँग समेत सहकार्य गरेर उचित विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । हेटौँडा उपमहानगरले काठमाडौं, चितवन, बीरगन्ज जस्ता ठुला सहरबाट लगानी भित्र्याउन पनि पहल गर्नुपर्ने थापाको सुझाव छ ।
बहसमा सहभागी सहरी विज्ञ कीर्ति कुशुम जोशीले सहरको मौलिकतामा ध्यान दिनुपर्नेमा देशका अधिकांश सहरले विदेशको नक्कल गरेर एउटै ढाँचामा विकास भइरहेको बताउनुभयो । उहाँले ठुला संरचना मात्रै विकास नभई स्थानीय जीवनशैलीसँग मेल खानेगरी सहरको विकास गर्नुपर्ने सुझाव दिनुभयो । हेटौँडालाई अरु कुनै सहर जस्तो नबनाई मौलिक हेटौँडा बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुहुँदै सहरी विज्ञ जोशीले भन्नुभयो, ‘अहिले पनि नेपालका सहरहरु आधारभूत आवश्यकताका लागि नै जुधिरहेको छ । हेटौँडा उपमहानगरले आफ्नो सवल पक्ष बुझ्नुपर्छ । हेटौँडाको सवल पक्ष देशको मध्यभागमा रहेर सडक सञ्जालको बीच भागमा हुनु हेटौँडाको सवल पक्ष हो ।’ जोशीले आगामी दिनमा विकासका योजनाहरु प्रकृतिसँग मिलेर बाँच्ने सिद्धान्तमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । गुणस्तरीय भौतिक पूर्वाधार, सबैका लागि सहर, गतिशील अर्थतन्त्र र गहिरो विकासको अवधारणामा सहरी विकासको अवधारणा आत्मसाथ गर्नुपर्ने सुझाव दिनुभयो ।
छलफलमा सहभागी हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडालाई स्मार्ट सिटी बनाउने भनिए पनि चारैतर्फको राजमार्ग र यसको विस्तारमा भइरहेको अनिश्चितताले समस्या भएको बताउनुभयो । समूह छलफलमा सहभागी हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले एसियाली विकास बैंकको सहयोगमा आगामी १५ वर्षसम्मका लागि खानेपानीको सहज उपलब्धता सुनिश्चित हुने बताउनुभयो ।
बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘स्थानीय सरकार ः जनअपेक्षा, सुशासन र आगामी कार्यदिशा’ शिर्षकमा पहिलो बहस भएको थियो । बहसमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगर क्षेत्र भित्र २२ वटा स्वास्थ्य केन्द्रहरु र ५ बेडका दुइवटा अस्पतालहरु सञ्चालनमा रहेको तथा शिक्षामा कानुन र कृषि दुइवटा संकायमा शैक्षिक कार्यक्रमहरु शुरु गरिएको जानकारी दिनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय सरकारको अधिकार नै नभएको विषयमा स्थानीयहरुले माग गर्दै बिनाकारण गाली खाने गरेको गुनासो गर्नुभयो । यस्तै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय तहहरुको समन्वय गरी एक अर्काले फाइदा लिन नसकेको बताउनुभयो । भीमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले पछिल्लो समय स्थानीय तहमा भ्रष्ट्राचार बढेको भन्दै जनगुनासो बढेको स्विकार गर्नुभयो । उहाँले आफ्नो पालिकाले नेपालमै पहिलोपटक सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु ३ सय ११ जनालाई समावेश गरिसकेको जानकारी दिनुभयो ।
समृद्ध हेटौँडा बहसअन्तर्गत नै ‘सृजनशील हेटौँडा : संघर्ष, उद्यम र उडान’ शीर्षकको बहसमा उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष स्वागत राज प्याकुरेलले उद्यमशीलता विकासमा दीर्घकालिन दृष्टिकोण राख्न जरुरी रहेको बताउनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको पनि उपस्थिति रहेको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले बहसबाट प्राप्त सुझावहरुलाई आगामी बजेट कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बहसमा विज्ञको कुरा सुनेर धेरै सिक्ने अवसर प्राप्त भएको नगरप्रमुख लामाको भनाइ थियो ।











