मंगलबारबाट खुलेको हेटौंडाको थोक तरकारी बजारको बुधबार बिहान लिइएको तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्लामा तरकारीको उत्पादन घटेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउन र निषेधाज्ञाका कारण तरकारी किसानहरुलाई बीउ, मल र बजार व्यवस्थापनमा समस्या हुँदा उत्पादन घटेको छ । उत्पादन घटेसँगै हेटौंडाको तरकारी बजारमा प्रायः सबै तरकारीको मूल्य महंगो भएको छ ।

सिजन अनुसार यो समयमा तरकारीको मुल्य सस्तो हुनुपर्ने हो । तर, लकडाउन र निषेधाज्ञाका कारण तरकारी महंगो भएको हेटौंडाको तरकारी बजारका व्यवसायी गोविन्द दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार हाल थोक तरकारी बजारमा गोलभेंडा प्रतिकिलो एक सय रुपैयाँमा विक्री भइरहेको छ । बोडी प्रतिकिलो एक सय रुपैयाँ, परवल प्रतिकिलो ७५ रुपैयाँ, काउली प्रतिकिलो एक सय २० रुपैयाँ, बन्दा प्रतिकिलो ४० रुपैयाँ, भिन्डी प्रतिकिलो ७० रुपैयाँ, भेँडे खुर्सानी प्रतिकिलो ७० रुपैयाँ, स्कुस प्रतिकिलो ३५ रुपैयाँमा थोकबजारमा विक्री भइरहेको छ । त्यस्तै काँक्रो हाइब्रिड प्रतिकिलो ३० रुपैयाँ र लोकल प्रतिकिलो ३५ रुपैयाँमा विक्री भइरहेको छ भने फर्सी र घिरौंला प्रतिकिलो २०/२० रुपैयाँमा विक्री भइरहेको छ ।

हाल तरकारी बजारमा उपभोक्ताको माग अनुसार तरकारी नआएको व्यवसायी गोविन्द दाहाल बताउनुहुन्छ । उहाँका अनुसार बन्दाबन्दीले किसानले उत्पादन गरेको तरकारी समयमा नबिक्ने अवस्था छ भने उपभोक्ताले एक छाक तरकारीलाई २ सय रुपैयाँ खर्चनु पर्ने अवस्था छ ।