Home मुख्य समाचार सुकुम्बासीलाई घरबारविहीन बनाउने काम स्वीकार्य हुँदैन : हर्क साम्पाङ

सुकुम्बासीलाई घरबारविहीन बनाउने काम स्वीकार्य हुँदैन : हर्क साम्पाङ

हेटौँडा–११ का भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायसँगको भेटघाट कार्यक्रममा बोल्दै हर्क साम्पाङ ।

हेटौँडा : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबारविहीन बनाउने कार्य स्वीकार्य नहुने बताउनुभएको छ । शनिबार हेटौँडा–११, थानाभर्‍याङमा आयोजित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायसँगको भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले राज्यले जनताको आधारभूत अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको हो ।

साम्पाङले पछिल्लो समय विभिन्न ठाउँमा सुकुम्बासी बस्ती हटाउने र घर भत्काउने गतिविधिप्रति असन्तुष्टि जनाउँदै जनतालाई विस्थापित गर्नेभन्दा समस्या समाधानतर्फ राज्य केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा हेटौँडा क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए । सहभागीहरूले जग्गा व्यवस्थापन, बसोबासको असुरक्षा, स्थानीय तहको व्यवहार र आधारभूत सेवासम्बन्धी समस्या राखेका थिए ।

साम्पाङले प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संसद्मा पहिलो पटक उठाएको मुद्दामध्ये सुकुम्बासी समस्या पनि रहेको उल्लेख गर्नुभयो । सरकारले गरेका गलत निर्णयविरुद्ध आफू निरन्तर बोल्दै आएको दावी गर्दै उहाँले जनताको पक्षमा उभिन नछाड्ने बताउनुभयो । मेचीदेखि महाकालीसम्मका नागरिकलाई जनताको घरबारविहीन बनाउने कदमविरुद्ध एकजुट हुन आग्रह गर्दै उहाँले सुकुम्बासी समुदायको अधिकारका लागि आफू सधैं साथमा रहने प्रतिबद्धता जनाउनुभयो ।

Exit mobile version