हेटौँडा : मकवानपुरगढी गाउँपालिका–५, सोलिथुममा साइकल अनियन्त्रित भई ढुंगामा ठोक्किँदा तीन जना बालक घाइते भएका छन् । शुक्रबार साँझ ७ बजेर ४० मिनेटको समयमा सोलिथुमबाट ज्यामिरेतर्फ आउने क्रममा भित्री सडक खण्डको ओरालोमा साइकल अनियन्त्रित भई ढुंगामा ठोकिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा साइकल चालक स्थानीय १२ वर्षीय आस्मित फुयाँल, पछाडि सवार १२ वर्षीय साजन दोङ र १४ वर्षीय विश्वास थिङ रहेका छन् । घाइते तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याएकोमा आस्मित र साजनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज रिफर गरिएको थियो । अवस्था गम्भिर भए पश्चात राती १० बजेको समयमा दुवैलाई आईसियुमा राखिएको प्रहरीले जनाएको छ । घाइते विश्वासको हेटौँडा अस्पतालमा उपचार भई रहेको छ । दुर्घटनाग्रस्त साइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
