Home मुख्य समाचार वैदिक संस्कृत गुरुकुलको नयाँ भवन उद्घाटन

वैदिक संस्कृत गुरुकुलको नयाँ भवन उद्घाटन

हेटौँडा : हेटौँडा–१८, हर्नामाडीस्थित वैदिक संस्कृत गुरुकुलमका लागि निर्माण गरिएको नयाँ तीन कोठे पक्की भवन उद्घाटन गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको ८ लाख रुपैयाँ तथा वडा नम्बर–१८ को २० लाख रुपैयाँ लागत सहयोगमा निर्माण गरिएको भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

वैदिक वानप्रस्थ आश्रमअन्तर्गत सञ्चालित गुरुकुलमा हाल कक्षा ६ देखि ८ सम्म अध्ययन हुँदै आएको छ । २०८१ सालदेखि कक्षा ६ बाट सुरु गरिएको गुरुकुलमा अहिले ३० जना विद्यार्थी अध्ययनरत रहेको गुरुकुल व्यवस्थापनले जनाएको छ । गुरुकुलमा भर्ना हुन कक्षा ५ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको छ । गुरुकुलले निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । सञ्चालनका लागि स्वेच्छिक दान, चन्दा तथा स्थानीय सहयोगमा निर्भर रहँदै आएको गुरुकुलका शिक्षकहरूको तलब व्यवस्थापन भने हेटौँडा–१८ वडा कार्यालयले गर्दै आएको जनाइएको छ ।

भवन उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने वडा अध्यक्ष अनिलकुमार बानियाँ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सीता विष्टको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वैदिक वानप्रस्थ आश्रमका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो । गुरुकुल व्यवस्थापनका अनुसार आगामी दिनमा पञ्चतत्व पार्क, गौशाला, जडीबुटी उद्यान, फलफूल उद्यान तथा प्राकृतिक चिकित्सालय निर्माण गर्ने दीर्घकालीन योजना अघि बढाइएको छ ।

Exit mobile version