हेटौँडा : मकवानपुर प्रहरीले अवैध सालको काठसहित एउटा गाडी नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान १ बजेर ४० मिनेटको समयमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको बा २० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा–५ क्याम्पाडाँडामा रोकी सुरक्षाजाँच गर्न खोज्दा फरार भएको थियो ।
प्रहरी टोलीले गाडीलाई पछ्याउँदै हेटौँडा–२, सानोपोखराचोकस्थित भित्री सडक खण्डबाट नियन्त्रणमा लिएको थियो । तर चालक भने घटनास्थलबाट फरार भएका छन् । गाडीको जाँचका क्रममा त्रिपालले छोपेर लुकाइ ल्याएको ४१ थान सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद काठको परिमाण ७२.५९ क्युफिट रहेको छ । प्रहरीले काठसहित गाडी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि डिभिजन वन कार्यालय हेटौँडा पठाएको जनाएको छ । चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
