हेटौँडा : दिगो बिकासको लक्ष्यद्वारा निर्देशित सन् २०३० को अन्त्यसम्ममा नेपालबाट बालविवाह अन्त्य गर्ने उद्देश्यले मकवानपुरका स्थानीय तहहरुले बालबिबाहको अवस्थाबारे अन्तरक्रिया गरेका छन् । बुधबार भ्वाइस अफ चिल्ड्रेन ललितपुर र जस्ट राइट्स फर चिल्ड्रेनको सहयोग तथा जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जिल्लास्तरीय अन्तरक्रिया भएको हो ।
नेपाल सरकारको सन् २०३० सम्म “बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२” कार्यान्वयनमा स्थानीय तहको भूमिका र आगामी कार्ययोजना विषयक मकवानपुर जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा मकवानपुर जिल्लाभित्रका १० वटै स्थानीय तहहरुले एकै स्थानमा छलफल गरेका छन् । उनीहरुले जिल्लामा बालविवाहको स्थिति र यसको समाधानका लागि भविष्यका लागि प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी श्रीरामबहादुर चन्दले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ र विद्यालयमा बालसंरक्षण मापदण्ड लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । बालमैत्री स्थानीय तहको सुरुवात नेपालमै मकवानपुरको मनहरीबाट भएको भएपनि मनहरी गाँउपालिकामै पनि बालविवाहका घटनाहरु भइरहेकोले वास्तविक नतिजा आउन धेरै मेहनत गर्न बाँकी रहेको समेत कार्यक्रममा जनाइएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनका उप–निर्देशक राजु घिमिरे, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीबक्ता देवेन्द्रराज आचार्य, बाल सुधार गृह हेटौँडाका प्रमुख प्रदीप अधिकारी, राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दलगायतका व्यक्तित्व लगायत स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता थियो ।











