हेटौँडाः नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा–९, लामसुरेस्थित हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका कर्मचारीहरूले विगत ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । सोमबार उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीहरूले ११ दिनभित्र सम्पूर्ण बाँकी तलब र ज्याला उपलब्ध नगराए सशक्त आन्दोलनमा होमिने चेतावनी दिएका हुन् ।
कर्मचारीहरूका अनुसार उनीहरूले ११ महिनाको तलबका साथै १८ महिनादेखि तलबबाट कट्टा गरिएको सञ्चय कोष, १५ महिनादेखिको नागरिक लगानी कोष र १ वर्षको कर फिर्ता वापतको रकमसमेत पाएका छैनन् । एक वर्षदेखिको सट्टा बिदाको सुविधा पनि पाउन सकेका छैनन् । उद्योग विगत ५ वर्षदेखि अत्यन्त न्यून उत्पादनसहित सञ्चालनमा रहेको र हाल कुल दरबन्दीको करिब ३० प्रतिशत मजदुरले मात्र उद्योग धानिरहेको कर्मचारीहरूको भनाइ छ ।
जनशक्ति अभावका कारण कर्मचारीहरू अतिरिक्त समय काम गर्न बाध्य भए पनि निमित्त महाप्रबन्धकको स्वीकृति हुँदाहुँदै विगत ३२ महिनादेखि अतिरिक्त कार्यबापतको ज्याला भुक्तानी नगरिएको उनीहरुको गुनासो छ । व्यवस्थापनले यसअघि पटक–पटक लिखित प्रतिबद्धता र मजदुरसँग सहमति गरे पनि त्यसलाई कार्यान्वयन नगरी लत्याउँदै आएको कर्मचारीहरूको आरोप छ ।
गत चैत १२ गतेदेखि २०८३ साल बैशाख १ गतेसम्मा करिब १० करोड रुपैयाँ बराबरको सिमेन्ट उत्पादन गरेको उद्योग अहिले बन्द अवस्थामा छ । कम्पनीमा हाल करिब १३० जना स्थायी र १५० जना ज्यालादारी कर्मचारी र मजदुर रहेका छन् । निरन्तर सञ्चालन हुन नसक्नु कम्पनीको मुख्य समस्या हो । उत्पादित सिमेन्ट बजारमा विक्री गर्न नसक्नु कम्पनीको अर्को चुनौती हो ।
चैत दोस्रो सातादेखि २२ दिन उद्योगले सिमेन्ट उत्पादन गरेको थियो । उद्योगमा अहिले करिब ९० हजार बोरा सिमेन्ट स्टक रहेको बताइएको छ । उक्त सिमेन्ट विक्रीको तयारी भइरहेको उद्योग स्रोतले जनाएको छ ।











