हेटौँडा : लागुऔषध गाँजासहित मकवानपुरका दुई जना नाबालक बारा जिल्लामा पक्राउ परेका छन् । बारा प्रहरीले शनिबार राति उनिहरुलाई पक्राउ गरेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१, पथलैयाचोकबाट शनिबार राती उनीहरुलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००३ प ५७६४ नम्बरको स्कुटरलाई रोकेर सुरक्षाजाँच गर्दा प्रहरीले लागूऔषध गाँजा २१ किलो बरामद गरेको जनाएको छ । लागुऔषध गाँजासहित स्कुटर चालक मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनका १३ वर्षीय किशोर र पछाडि सवार राक्सिराङ गाउँपालिका–७ का १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।











