हेटौँडा : छैठौं संस्करणको जिल्लास्तरीय शिक्षक भलिबलको उपाधि हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतनले जितेको छ । मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालयसँग गत वर्ष बदला लिँदै जीएस निकेतनले उपाधि जितेको हो । गत वर्ष भएको पाँचौं संस्करणमा जीएसलाई हराएर शारदाले उपाधि जितेको थियो ।
शनिबार भएको प्रतियोगिताको फाइनलमा खेलमा जीएस निकेतनले ३–२ को सेटमा उपाधि कब्जा गरेको हो । फाइनल खेलको पहिलो सेट २५–१८ ले जितेको शरदा मावि दोस्रो र तेस्रो सेट क्रमशः २४–२६ र १९–२५ ले गुमाएको थियो । २५–१६ ले चौथो सेटमा पुनरागमन गरेको शारदा मावि पाँचौं सेटमा ८–१५ ले पराजित भयो । प्रतियोगिता हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको थियो ।
प्रतियोगिताका उपाधि विजेता जीएस निकेतनले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजेता शारदा माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । शनिबार बिहान सम्पन्न सेमीफाइनल खेलमा राक्सिराङ गाउँपालिकाको सूर्योदय माविलाई पराजित गर्दै शारदा मावि फाइनल प्रवेश गरेको थियो भने जीएसले पनि राक्सिराङ गाउँपालिकाकै प्रजाजागृति माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनल प्रवेश थियो ।
सेमिफाइनलमा पराजित भएका दुवै विद्यालयले पनि सान्त्वना पुरस्कार स्वरुप समान ५–५ हजार रुपैयाँ प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा व्यक्ति विधातर्फ पनि पुरस्कारको व्यवस्था थियो । व्यक्तिगत विधातर्फ प्रतियोगिताको स्र्वोत्कृष्ट खेलाडी जीएसका अमृत मिश्रले ३ हजार रुपैयाँ, उत्कृष्ट सेटर जीएसकै विनोद श्रेष्ठ र उत्कृष्ट स्पाइकर शारदा माविका आशिष घलानले समान २–२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापन तथा हेटौँडा–४ नम्बर वडा कार्यालयको आयोजनामा शिक्षक भलिबल प्रतियोगिता भएको हो । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला विकास समितिका पूर्वसभापति रामेश्वर रानाको प्रमुख आतिथ्य रहेको थियो ।











