विद्यार्थी संगठन भनेको विद्यार्थीहरुको हकहित, शैक्षिक सुधार र सामाजिक राजनीतिक चेतनाका लागि बनाइएको एक सामूहिक संस्था हो । वास्तविक विद्यार्थी संगठनले निम्नानुसारको कार्य गर्नुपर्ने हो ।
– हकहितको रक्षा : विद्यार्थीहरुको अधिकारका लागि आवाज उठाउने र क्याम्पस प्रशासनसँग संवाद गर्ने ।
– शैक्षिक मुद्दा : शिक्षाको गुणस्तर सुधार र मागहरु सम्बोधन गराउन पहल गर्ने ।
– राजनीतिक संलग्नता : राजनीतिक दलहरुको सैद्धान्तिक समर्थनमा रहेर विद्यार्थीहरुलाई संगठित गर्ने ।
– नेतृत्व विकास : युवाहरुमा राजनीतिक र सामाजिक चेतना बढाउने ।
हाल नेपाली राजनीतिमा विद्यार्थी संगठनहरु विशेषगरी दलगत राजनीतिमा केन्द्रित भएर दलहरुको निर्देशन पालनामा बढी केन्द्रित भएको देखिन्छ । दलगत विद्यार्थी संगठनहरुले पठनपाठनमा अवरोध र स्वार्थ पूर्तिका लागि काम गर्ने गरेको देख्न सकिन्छ । राजनीतिक दल निकटका सम्पूर्ण विद्यार्थी संगठनहरुले राजनीतिक पार्टीको भोट र बैंकको रुपमा कार्य गरेको महसुस आमनागरिकलाई भएको पाइएको छ । यसको जल्दोबल्दो उदाहरण नै नेपालमा २०८२ साल भदौ २३ र २४ गते भएको जेन जी युवा समुहको आन्दोलनले प्रष्ट पारेको छ । २०८२ साल भदौ २३ गते राज्यपक्षबाट भएको बल प्रयोगबाट कलेज पोशाकमा आन्दोलनमा सहभागी विद्यार्थी मारिँदा राज्य संचालनको विरुद्धमा एक शब्दसम्म नबोल्ने राजनीतिक दलका विद्यार्थी संगठनप्रति जनमानसमा नकारात्मकता छाएको प्रष्ट हुन्छ ।
नेपालका विद्यार्थी संगठनमा देखिएका मुख्य समस्याहरु निम्न छन् ।
– मुख्यतया विद्यार्थीहरु आन्दोलनमा प्रयोग भए । दलगत विद्यार्थी संगठनले केही नेताहरुलाई सत्ता त दिलायो तर अधिकार दिलाउन सकेको देख्न सकिएन ।
– राजनीतिक पार्टीको सिद्धान्तमा र निर्देशन पालनामा केन्द्रित भएर शैक्षिक गुणस्तरका लागि आवाज उठान कमजोर ।
– शैक्षिक गतिविधि भन्दा पनि राजनीतिक गतिविधिमा केन्द्रित भई आफ्नै शैक्षिक धरातल कमजोर बनाउन केन्द्रित ।
– पार्टीमा देखापरेका समस्या भन्दा पनि वादविवादमा रुमल्लिएर सिद्धान्तमा केन्द्रित नभएको ।
माथि उल्लेखित समस्याले दलगत विद्यार्थी संगठनप्रति आम नागरिकमा नकारात्मक प्रभाव रहेको देखिन्छ । वास्तवमा दलगत विद्यार्थी संगठन खारेज गरी स्वतन्त्र र एकीकृत संगठन जसले विद्यार्थीको हकहितमा केन्द्रित रही शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्य अनुरुपको संगठन निर्माणमा ध्यान दिनु उचित हुन्छ ।











