हेटौँडा : बैशाख महिनाको १२ गतेसम्म छुट्टाछुट्टै स्थानमा आयोजना भएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल हेटौँडा शाखाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम भएको छ । मण्डलले मानव एकता दिवसको अवसरमा हेटौँडा–१०, बुद्धचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
यस्तै बैशाख ५ गते शनिबार नयाँ वर्ष २०८३ को अवसरमा लामसुरे युवा समाजद्वारा हेटौँडा–९, लामसुरेमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । बैशाख ७ गते सोमबार सिटिजन बैंकको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।
बैशाख १८ गते बुद्ध जयन्तीको अवसरमा चौकिटोलस्थित महाविहार र बैशाख २१ गते हेटौँडा–८, स्थित सशस्त्र प्रहरीको आयोजनामा रक्तदान कार्यक्रम हुने प्राविधिक सापकोटाले जानकारी दिनुभएको छ ।
