Home खेलकुद उपमेयर कप भलिबलः हेटौँडा–५ र हेटौँडा–१९ ले उपाधि जित्यो

उपमेयर कप भलिबलः हेटौँडा–५ र हेटौँडा–१९ ले उपाधि जित्यो

पाधिसाथ हेटौँडा–१९ को पुरुष भलिबल टिम (बायाँ), हेटौँडा–५ को महिला भलिबल टिम (दायाँ) ।

हेटौँडाः आठौँ संस्करणको वडास्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको प्रतियोगिताको उपाधि महिलातर्फ हेटौँडा–५ र पुरुषतर्फ हेटौँडा–१९ ले उचालेको छ ।

मंगलबार भएको प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा हेटौँडा–५ ले हेटौँडा–१२ लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि कब्जा गरेको छ । हेटौँडा–५ ले हेटौँडा–१२ लाई २५–१७, २५–२२ र २५–४ को सेटमा सहजै पराजित गरेको हो । सोमबार भएको सेमिफाइनल खेलमा हेटौँडा–५ ले हेटौँडा–९ लाई र हेटौँडा–१२ र हेटौँडा–१७ लाई हराएर फाइनलमा पुगेको थियो ।

पुरुषतर्फको उपाधिका हेटौँडा–१९ ले जितेको छ । फाइनल खेलमा हेटौँडा–१९ ले हेटौँडा–११ विरुद्ध ३–२ को सेटले जित्दै उपाधि कब्जा गरेको हो । फाइनल खेलमा हेटौँडा–१९ ले पहिलो सेट २५–२३ ले र तेस्रो सेट २५–१९ ले जित्दा दोस्रो सेट २०–२५ र चौथो सेटमा ९–२५ ले पराजित भएको थियो । त्यसपछि पुनरागमन गरेको हेटौँडा–१९ ले पाँचौँ सेट १५–१० ले जित्दै उपाधि उचालेको हो । सोमबार भएको सेमिफाइनल खेलमा हेटौँडा–१९ ले हेटौँडा–१८ लाई र हेटौँडा–११ ले हेटौँडा–१२ लाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेता, उपविजेता र सेमिफाइनलमा पराजित भएका टिमहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरुले पनि नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विधागत खेलाडीमा महिलातर्फ हेटौँडा–५ की आयुष्मा उप्रेती उत्कृष्ट सेटर, अप्सना उप्रेती उत्कृष्ट सर्भर, नमुना थिङ उत्कृष्ट स्पाइकर, सलिना मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र आशीष राई उत्कृष्ट कोच बनेका छन् भने हेटौँडा–१२ की प्रशंसा भोम्जन उत्कृष्ट डिफेन्डर घोषित भइन् ।

यसैगरी, पुरुषतर्फ हेटौँडा–१९ का विशेष थापा मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । सुवास सुवेदी उत्कृष्ट कोच, क्रिस लामा उत्कृष्ट सेटर बनेका छन् भने हेटौँडा–११ का निश्चल कौचा उत्कृष्ट ब्लकर, निरन सापकोटा उत्कृष्ट डिफेन्डर र कुशल लो उत्कृष्ट स्पाइकर घोषित भएका छन् ।

हेटौँडा उपमहानगर खेलकुद विकास समितिको प्रायोजन तथा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय खेलकुद प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १० वडाका टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ तोकिएको थियो । सेमिफाइनलमा पराजित हुने टिमहरुका लागि १०/१० हजार रुपैयाँ सान्त्वना पुरस्कार तोकिएको थियो । पुरस्कार रकम पछि प्रदान गरिने आयोजकले जनाएको छ ।

Exit mobile version