हेटौँडा : हेटौँडामा जारी उपमेयर कप भलिबल प्रतियोगितामा महिलातर्फ हेटौँडा–५ फाइनल प्रवेश गरेको छ । आज (सोमबार) बिहान हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको सेमीफाइनल खेलमा हेटौँडा–५ ले हेटौँडा–९ लाई २५–२२, २५–१८ र २५–१२ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमीफाइनल खेल हेटौँडा–१२ र हेटौँडा–१७ बीच हुनेछ ।
यस्तै पुरुषतर्फ पनि सेमीफाइनल चरणका खेलहरु आजै हुनेछ । पुरुषतर्फ फाइनल प्रवेशका लागि हेटौँडा–११ र हेटौँडा–१२ बीच सेमीफाइनल खेल हुनेछ भने हेटौँडा–१८ र हेटौँडा–१९ बीच अर्को सेमीफाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ, सान्त्वना हुने टिमले १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछ । हेटौँडा उपमहानगर खेलकुद विकास समितिको प्रायोजन तथा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय खेलकुद प्रतिष्ठानको आयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । महिलातर्फ ७ वटा वडाको टिम सहभागी हुँदा पुरुषतर्फ १० वटा वडाको टिम सहभागी थिए ।
