हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीयता सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबीच तादत्म्यता हुनुपर्ने बताएका छन् । उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन नीति र व्यवहारमा एक रुपमता कायम गर्नुपर्ने बताए ।
प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत समसामयिक शासन प्रणालीका विभिन्न आयामहरुमा नीति संवाद कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपालमा पनि संघीय संरचनामार्फत जनताको जीवनस्तर सुधार गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण र साहस हुनुपर्ने बताए । नेपाली राजनीतिमा देखिएको बोली र व्यवहार बीचको खाडलले प्रभावकारी काम हुन नसकेको उनले बताए ।
‘नेताले नीति बनाउँछ । तर त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने जिम्मेवारी निजामती प्रशासनको हो । जबसम्म प्रशासन संयन्त्र सक्रिय, निष्पक्ष, पारदर्शी र जनताप्रति उत्तरदायी हुँदैन । तबसम्म जतिसुकै राम्रो नीति बनाए पनि त्यसको प्रतिफल जनताले पाउँदैनन्’, उनले भने, ‘हाम्रो बोलीमा उत्साह देखिन्छ । तर कुर्सीमा बसेर काम गर्दा त्यो व्यवहारमा लागु हुन सकिरहेको छैन । नेतृत्व र कार्यान्वयन पक्षको गति नमिल्दा नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा सोचेअनुसारको परिवर्तन आउन सकेन ।’
मुख्यमन्त्री बानियाँका अनुसार अबका नीतिहरु द्विअर्थी लाग्ने खालको नभई स्पष्ट र नतिजामुखी हुनुपर्छ । संघीयतालाई संस्थागत गर्नका लागि संघीय सरकारले निजामती सेवा ऐन, प्रहरी ऐन, वन र भूमि सम्बन्धी कानुनहरु यथाशीघ्र निर्माण गरी प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने उनको भनाई छ । जनता बलियो भए मात्र राज्य बलियो हुने उनले बताए । नागरिकको हित र विकास निर्माण तथा समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुसार काम हुनुपर्ने उनले बताए ।
प्रदेश सुशासन केन्द्र हेटौँडाको सभाहलमा भएको कार्यशालामा विज्ञ उमेशप्रसाद मैनालीले संघीय सुशासन र सुधारका मार्गचित्र र डा. नहकुल सुवेदीले नीति, योजना, बजेट, कार्यक्रम तर्जुमा र कार्यक्रम कार्यान्वयनका आधारभुत चुनौतीहरु र समाधान बारे प्रस्तुती दिएका थिए ।
