Home मुख्य समाचार चैत महिनामा २४ किशोरीहरु आमा बने

चैत महिनामा २४ किशोरीहरु आमा बने

हेटौँडा : हेटौँडा अस्पतालमा फागुन महिनामा २० वर्षमुनिका २४ जना किशोरीहरु आमा बनेका छन् । एक महिनामा अस्पतालमा १ सय ९९ जना महिलाहरुले प्रसुती सेवा प्राप्त गरेकोमा २४ जना २० वर्षमुनिका किशोरीहरु रहेका हुन् ।

हेटौँडा अस्पतालको मातृशिशु शाखाबाट गत साउनदेखि चैत्र मसान्तसम्म ९ महिनाको अवधिमा १ सय ७१ जना २० वर्षभन्दा कम उमेरका किशोरीहरु आमा बनेका छन् । यस अवधिमा हेटौँडा अस्पतालमा २ हजार २ सय ६९ जनाले प्रसुती सेवा लिएकोमा १ सय ७१ जना २० वर्ष मुनिका रहेका छन् । चैत्र महिनामा १ सय ९९ जनामध्ये १ सय ३६ जनाको सामान्य प्रसुती, २ जनाको संवेदनशील तथा ६१ जनाको शल्यक्रियाद्वारा सुत्केरी गराइएको हेटौँडा अस्पताल मातृशिशु शाखाले जनाएको छ । यस अस्पतालमा सुविधा सम्पन्न शल्यक्रिया सेवा तथा अस्पताल नभएका छिमेकी जिल्लाहरुबाट रिफर भई प्रसुती सेवाका लागि आउने गरेका छन् ।

मकवानपुरको मनहरी, भीमफेदी, बागमती, बकैया गाउँपलिकालगायत हेटौँडा उपमहानगरपालिकाका केही वडाहरुबाट समेत गर्भवती किशोरीहरु प्रसुती सेवा लिन आउने गरेको हेटौँडा अस्पतालको मातृशिशु शाखाका स्वास्थ्यकर्मीले जनाएका छन् । २० वर्ष उमेर नपुगी आमा बन्दा आमा र शिशु दुबैको स्वास्थ्य जोखिममा रहने स्वास्थ्यकर्मीको भनाइ छ । आमाको प्रजनन् अंग विकास भइनसकेकोले प्रसुती सेवामा समेत जोखिम हुनसक्ने, सानो उमेरमा गर्भवती हुँदा शिशु पूर्ण परिपक्व नभई जन्मने सम्भावना रहने र समय नपुगी जन्मेको शिशुलाई विभिन्न संक्रमणको समेत खतरा रहने चिकित्सकहरुले चेतावनी दिँदै आइरहेका छन् ।

Exit mobile version