हेटौँडा : बागमती प्रदेश सरकारले थालेको प्रशासनिक पुनर्संरचनामा साविकको ७ मन्त्रालयको मोडलमा अघि बढ्ने पाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुझाव दिएको छ । नेकपा बागमती प्रदेशसभा संसदीय दलले प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना प्रतिवेदनप्रति असहमति जनाउँदै मन्त्रालय संख्या ७ वटामा सीमित गर्न प्रस्ताव गरेको हो ।
दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सुझावपत्र बुझाउँदै प्रशासनिक सुधारलाई प्रभावकारी, मितव्ययी र परिणाममुखी बनाउन आग्रह गरेका हुन् । उनले एउटै उद्देश्यका लागि दुईवटा छुट्टाछुट्टै समिति गठन गर्नु आवश्यक नभएको र मन्त्रीको नेतृत्वमा विज्ञसहितको एउटै समिति गठन गरी अध्ययन गर्नु उपयुक्त हुने बताए ।
बागमती प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनाका लागि प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलको संयोजकत्वमा रहेको उच्चस्तरीय निर्देशक समिति र पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा विज्ञ समूहको सुझाव समिति गठन गरेको थियो । उक्त समीतीको सुझाव अनुसार प्रदेशमा ८ मन्त्रालय कायम गर्नेगरी सरकार अघि बढेको छ । जसमा नेपकाले असहति जनाएको छ । नेकपाले रणनीतिक महत्वका मन्त्रालयहरु हटाउने र गाभ्ने काम गर्न नहुने जनाएको छ । सोही अनुसार नेकपाले साविकको ७ मन्त्रालयको मोडलमा अघि बढ्न मुख्यमन्त्री बानियाँलाई आग्रह गरेको हो ।
नेकपाले प्रदेश सरकारको आकार घटाउँदै खर्च नियन्त्रण गर्न प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, कृषि, पशुपन्छी तथा सहकारी मन्त्रालय र उद्योग, संस्कृति, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम गर्न प्रस्ताव गरेको छ । उक्त मोडल साविकको प्रदेश संरचना स्थापनाको बखतमा रहेको थियो ।
प्रदेश स्थापना कालमै रहेको उक्त संरचना वैज्ञानिक, सन्तुलित र व्यवहारिक रहेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने नेकपाको भनाइ छ । मन्त्रालयहरुबीच कार्य दोहोरोपन नहोस् र हस्तक्षेपकारी अवस्था नआओस् भन्ने विषयमा पनि दलले प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेता जम्कट्टेलले बताए । साथै, प्रदेश प्रहरी समायोजन प्रक्रिया कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय खारेज गर्नु उपयुक्त नहुने नेता जम्कट्टेलको भनाई छ ।
नेकपाले प्रदेश विश्वविद्यालय, प्रदेश सुशासन केन्द्र र प्रदेश नीति तथा योजना आयोगजस्ता संरचनालाई खारेज नगरी थप सुदृढ बनाउँदै प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । उक्त निकायहरु प्रदेशको नीति निर्माण, जनशक्ति विकास र प्रशासनिक दक्षता अभिवृद्धिका लागि आवश्यक रहेको जनाइएको छ ।
प्रदेश सुशासन केन्द्रलाई कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण संस्था भएकाले सो निकाय हटाउनु आफ्नै अधिकार कटौती हुने नेकपाको तर्क छ । प्रदेश नीति तथा योजना आयोगलाई विकास योजनाको केन्द्रिय निकायका रूपमा यथावत राख्नुपर्नेमा नेकपाले जोड दिएको छ ।
यसैगरी संघीय निजामती ऐन अझै नआएको र दरबन्दी एकिन हुन बाँकी रहेकाले प्रदेशमा कार्यरत कर्मचारी संख्या घटाउनु उपयुक्त नहुने पनी नेकपाको धारणा छ । न्यून सेवा–सुविधामा काम गरिरहेका कर्मचारीलाई यथावत राख्नुपर्ने सुझाव उसले दिइएको छ ।
जिल्ला तहमा सेवा प्रवाहलाई सहज बनाउन आवश्यक स्रोत र जनशक्ति अभाव भए कार्यालयहरू गाभेर एकीकृत सेवा प्रणाली लागू गर्नुपर्ने नेकपाले माग गरेको छ । स्थानीय तहसम्म सेवा सहज रुपमा पु¥याउन प्रशासनिक संरचना पुनर्संरचना हुनुपर्नेमा जोड दिइएको छ । नेकपाले वर्तमान पुनर्संरचना प्रतिवेदन कार्यान्वयन भए प्रदेश संरचना कमजोर हुने, सेवा प्रवाह प्रभावित हुने र संघीयताप्रति जनविश्वास घट्न सक्ने चेतावनी दिएको छ । नेकपाले आफ्नो सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ ।
