हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची गाउँपालिका–११, बेलिब्रिजस्थित इन्द्रावती खोलामा पौडी खेल्ने क्रममा बगाउँदा बेपत्ता भएकी बालिका मृत फेला परेकी छन् । मृत फेला पर्नेमा पाँचपोखरी थाङपाल गाउँपालिका–६ की १४ वर्षीया अन्जिता जोती रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार दिउँसो ४ बजेर २० मिनेटको समयमा बेलिब्रिज क्षेत्रमा पौडी खेल्ने क्रममा खोलाले बगाएर अन्जिता र मेलम्ची नगरपालिका–९ की १८ वर्षीया निर्जला गिरी बालिका बेपत्ता भएकी थिइन् । बालिकाहरुलाई खोजी गर्दै जाँदा सोमबार साँझ ५ बजेको समयमा घटनास्थलबाट एक किलोमिटर तल निर्जला मृत अवस्थामा फेला परेकी थिइन् भने अन्जिता मंगलबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा घटनास्थलबाट ३ सय मिटर तल मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि मेलम्ची नगर अस्पतालमा लगिएको छ ।
