हेटौंडा: आइतबार सर्लाहीका वीरेन्द्र मण्डल कक्षा–६ मा आफ्नो छोरालाई भर्ना गराउनका लागि हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा आए । यो विद्यालयको बारेमा आफन्तबाट थाहा पाएका वीरेन्द्रले छोरालाई सवल सामुदायिक विद्यालयमा पढाउने अपेक्षाका साथ सर्लाहीबाट आएको बताए ।
तराइका जिल्लामा हेटौँडाको आधुनिक राष्ट्रिय मावि लगायत अन्य सामुदायिक विद्यालयमा राम्रो पढाइ हुने सुनेको र यही विद्यालयमै पढेका एक जना आफन्तले राम्रो नतिजा ल्याएको पाएपछि आफ्नो बच्चा पनि यहीँ पढाउन लालायित भएको बताएका छन् । उनले आफु सर्लाहीमै जागिर गर्नुपर्र्ने कारण छोरालाई हेरविचार गर्न श्रीमतीलाई हेटौँडामा बस्ने व्यस्था मिलाएको बताए । उनीमात्र नभई मध्य तराइका विभिन्न जिल्लाबाट सयौंको संख्यामा विद्यार्थीहरु भर्नाका लागि हेटौँडा आएका छन् ।
यस्तै हेटौँडा ८ का एकजना अभिभावक पनि छोरीलाई भर्ना गर्न आधुनिक राष्ट्रिय माविमा आएका छन् । कक्षा ८ मा भर्ना गर्न आएका ति अभिभावक बच्चा घरबाटै सार्वजनिक यातायातमा आवतजावत गर्न सक्ने भएकोले गुणस्तरीय र सस्तो शिक्षा प्राप्त गर्ने अपेक्षाले आफ्नो वडा छाडेर आधुनिकमा आएको उनले बताए ।
यि दुवैजना आइतबार आधुनिक राष्ट्रिय माविमा देखिएको प्रतिनिधि अभिभावकहरु हुन् । आधुनिकमा मात्र नभएर हेटौँडाका अन्य ठुला सामुदायिक विद्यालयहरुमा नयाँ भर्नाका लागि प्रत्येक वर्ष विद्यार्थीहरुको भिड लाग्ने गरेको छ । आधुनिक राष्ट्रिय मावि सँगै भुटनदेवी मावि, हेटौँडा–५ स्थित बालज्योति मावि, हेटौँडा–२ स्थित सिद्धार्थ मावि लगायतमा विद्यालयमा नयाँ भर्नाका लागि भिड लागेको छ । यि बाहेक हेटौँडा–६ स्थित बंशगोपाल मावि, हेटौँडा–१६ स्थित जनप्रिय माविमा पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने गरेका छन् । यि विद्यालयहरुले आफ्नो क्षमता अनुसार प्रतिवर्ष १ सयदेखि ४ सयसम्म नयाँ विद्यार्थी भर्ना गर्ने गरेका छन् ।
प्राथमिक तहसम्म निजी तथा संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु पनि माध्यमिक तहमा अध्ययनका लागि आफ्ना सुविधा तथा निकटताका हिसाबले यि विद्यालयहरुमा पढ्न रुचाउने गरेका छन् । यद्यपी आधुनिक, सिद्धार्थ, भुटनदेवी लगायतका विद्यालयहरुले स्रोत साधनको कमिले गर्दा भर्ना फारम भर्नेमध्ये कमलाई मात्र भर्ना दिइने गरेको छ । बजार बाहिरका जनप्रिय तथा बंशगोपाल माविमा भने थोरै संख्यामा मात्र आउने भएका कारण आएका सबै विद्यार्थीहरुलाई भर्ना लिइने गरेको छ ।
यस वर्ष आधुनिक राष्ट्रिय माविमा १ हजार १ सय नयाँ विद्यार्थीहरु भर्नाका लागि आएपनि विद्यालयको कक्षाकोठा तथा शिक्षक संख्याको क्षमता अनुसार ३ सय ५६ जना भर्ना लिइने जनाएको छ । यस्तै भुटनदेवी माविले ३ सय ५० जनाले भर्नाको फारम भरेपनि १ सय जना मावि तह तथा ६० जना प्राथमिक तहमा नयाँ भर्ना लिने जनाएको छ ।
यस्तै हेटौँडा–२ स्थित सिद्धार्थ माविमा ३ सय जना विद्यार्थी भर्ना लिने तयारी रहेको विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले जानकारी दिनुभयो । यस्तै हेटौँडा–६ स्थित बंशगोपाल माविले हालसम्म आएका २५ जना भर्ना गरेको जनाएको छ भने हेटौँडा–१६ स्थित जनप्रिय माविले ३ सय जना नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेकोमा हालसम्म २ सय ५० जना भर्ना हुन आएको जनाएको छ । यि विद्यालयहरु मध्ये भुटनदेवी मावि, बंशगोपाल मावि र जनप्रिय माविमा प्राविधिक धारका विषय पनि पठनपाठन हुने विद्यालय हुन् भने बालज्योति मावि, आधुनिक राष्ट्रिय मावि तथा सिद्धार्थ मावि भने साधारण विषयतर्फ मात्र सञ्चालित विद्यालयहरु हुन् ।
