Home मुख्य समाचार हेटौँडाको फोहोर व्यवस्थापनका चुनौति

हेटौँडाको फोहोर व्यवस्थापनका चुनौति

हेटौँडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको विषय लामो समयदेखि जटिल देखिएको छ । यो उचित ढंगले व्यवस्थापन नहुँदा बिस्तारै जनस्वास्थ्य, वातावरण र शासन प्रणालीको गम्भीर असफलताको प्रतिरूप बन्दै गएको छ । शहरको नजिकै अवस्थित डम्पिङ साईट अहिले केवल फोहोर थुपार्ने ठाउँ नभएर एक प्रकोपको जोखिम सिर्जना गर्ने क्षेत्रमा परिणत हुँदैछ, जहाँ हरेक दिन नागरिकहरूको स्वास्थ्य, वातावरणीय सन्तुलन र भविष्य जोखिममा परिरहेको छ । दुर्गन्ध, फोहोर र अव्यवस्थासम्म सीमित छैन यो दीर्घकालीन रूपमा मानव जीवन, जैविक विविधता र सामाजिक संरचनामाथि असर पार्ने खालको संकट हो ।

म शुक्रबार डम्पिङ साईटमा पुगेर प्रत्यक्ष अवलोकन गरेँ । त्यहाँ देखिएको अवस्था केवल चिन्ताजनक मात्र होइन, डरलाग्दो थियो । अस्पतालबाट निस्कने सुई, संक्रमित वस्तु, रासायनिक फोहोर यी सबै एउटै स्थानमा खुला रूपमा फालिएको थियो । त्यहीँ जैविक र अजैविक फोहोर पनि मिसिएको थियो । कुनै किसिमबाट फोहरलाई विभाजन गरिएको थिएन, कुनै सुरक्षा मापदण्ड अपनाइएको थिएन र कुनै वैज्ञानिक प्रक्रिया देखिएन । यस्तो अवस्था केवल व्यवस्थापनको मात्र कमजोरी होइन, यो सीधै नागरिकहरूको जीवनप्रतिको लापरवाही हो । अझ खतरनाक कुरा के छ भने, यस्तो फोहोरसँग सम्पर्कमा आउने मजदुरहरू र नजिकै बसोबास गर्ने समुदाय पूर्णरूपमा जोखिममा छन्, जहाँ संक्रमण, विषाक्तता र दीर्घकालीन रोगहरूको खतरा अत्यन्त उच्च हुन्छ ।

फोहोर व्यवस्थापनको आधारभूत सिद्धान्त भनेको स्रोतमै फोहरलाई छुटाउनु हो । जसअनुसार फोहोरलाई सुरुमै छुट्याएर व्यवस्थापन गरिनुपर्छ । तर हेटौँडामा यो आधारभूत अवधारणा नै कार्यान्वयनमा आएको देखिँदैन । जब जैविक, अजैविक र हानिकारक फोहर एउटै ठाउँमा मिसाइन्छ, त्यहाँ रासायनिक प्रतिक्रिया सुरु हुन्छ, मिथेन जस्ता ग्यासहरू उत्पादन हुन्छन्, जुन विस्फोटक र वातावरणका लागि हानिकारक हुन्छन् । साथै, यस्तो मिश्रित फोहोरबाट निस्कने दूषित तरल पदार्थले भूमिगत पानीलाई प्रदूषित गर्छ, जसले दीर्घकालीन रूपमा खानेपानी प्रणालीलाई समेत असर पार्न सक्छ ।

यस समस्यालाई अझ गम्भीर बनाउने अर्को पक्ष हो डम्पिङ साइटमा गरिने खुला आगजनी । फोहोर व्यवस्थापनको नाममा त्यहीँ आगो लगाउने अभ्यासले डायोजिन र फुरान जस्ता अत्यन्त विषालु रसायनहरू हावामा फैलाउँछ । यी तत्वहरू विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सर, श्वास–प्रश्वास, प्रजनन् स्वास्थ्यमा असन्तुलन जस्ता गम्भीर स्वास्थ्य समस्याका प्रमुख कारण हुन् । यस्तो अवस्थामा पनि स्थानीय सरकारले समयमै दमकल नपठाउनु, वा यस्तो गतिविधिलाई रोक्न प्रभावकारी कदम नचाल्नु, राज्यको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाउने विषय हो ।

कानूनी दृष्टिकोणबाट हेर्दा नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार प्रदान गरेको छ । यस्तो अवस्थामा हेटौँडाको वर्तमान अवस्था संविधानद्वारा सुनिश्चित अधिकारको प्रत्यक्ष उल्लंघन हो । यससँगै, अन्तर्राष्ट्रिय रूपमा र नेपालको वातावरण संरक्षण ऐन २०७६ ले स्वीकार गरिएको फोहर सर्जकले नै तिर्नुपर्ने सिद्धान्त अनुसार प्रदूषण गर्ने पक्षले त्यसको लागत व्यहोर्नुपर्छ । तर यहाँ न त नगरपालिका, न त फोहोर व्यवस्थापन गर्ने कम्पनी कसैले पनि आफ्नो जिम्मेवारी वहन गरेको देखिँदैन, जसले सरकारको असफलतालाई स्पष्ट रूपमा देखाउँछ ।

विश्वका विभिन्न देशहरूले फोहोर व्यवस्थापनलाई समस्या नभई अवसरको रूपमा प्रयोग गरेका छन् । सिंगापुरले फोहरबाटै बिजुली उत्पादन गर्दै ल्याण्डफिलको प्रयोग न्यून बनाएको छ । स्वीडेनमा ९९ प्रतिशतभन्दा बढी फोहोरलाई पुनःप्रयोग वा ऊर्जा उत्पादनमा प्रयोग गरिन्छ, जसले ल्याण्डफिल प्रणालीलाई लगभग अन्त्य गरेको छ । जापानमा नागरिकस्तरमै कडारुपमा फोहरलाई विभाजन गर्ने प्रणाली लागू गरिएको छ, जहाँ फोहोरलाई १०–१५ वर्गमा छुट्याइन्छ र नियम उल्लंघन गर्दा दण्डको व्यवस्था छ । दक्षिण कोरियाले खाद्यान्नजन्य फोहरलाई अलग गरेर प्रविधिको प्रयोगमार्फत पहिचान र व्यवस्थापन गर्छ, जसले फोहोर घटाउने मात्र होइन, स्रोतको रूपमा प्रयोग गर्ने वातावरण सिर्जना गरेको छ ।

यसका अतिरिक्त जर्मनीले अर्थतन्त्रको चक्रको अवधारणा लागू गर्दै फोहोरलाई पुनःउत्पादन चक्रमा ल्याउने नीति अपनाएको छ, जहाँ पुनःप्रयोगको दर अत्यन्त उच्च छ । नेदरल्याण्डले सन् २०५० सम्म शून्य फोहर लक्ष्य राख्दै ल्याण्डफिल पूर्णरूपमा हटाउने योजना अघि बढाएको छ । संयुक्त अधिराज्य अमेरिकामा आधुनिक सेनिटरी ल्याण्डफिल प्रयोग गरिन्छ, जहाँ फोहोरलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गरिन्छ दूषित तरल पदार्थ नियन्त्रण, ग्यास संकलन र वातावरणीय अनुगमन अनिवार्य रूपमा गरिन्छ ।

नेपालमा पनि घोराही उपमहानगरपालिकाले फोहर व्यवस्थापनलाई व्यवस्थित गर्दै व्यवहार परिवर्तनको पक्षलाई प्राथमिकता दिएको देखिन्छ । यहाँ फोहर संकलन गर्दा जनताबाट शुल्क नउठाउने मात्र होइन, बरु फोहर छुट्याएर ल्याउनेलाई प्रोत्साहनस्वरूप पैसा दिने अभ्यास समेत सुरु गरिएको छ । यसरी ‘फोहर उठाए बापत पैसा लिने’ परम्परागत प्रणालीभन्दा फरक ‘फोहर व्यवस्थापनमा सहभागिता जनाए बापत पैसा दिने’ नवीन अभ्यासले नागरिकमा सचेतना वृद्धि गर्नुका साथै फोहरलाई स्रोतका रूपमा प्रयोग गर्ने सोचको विकास गरेको छ । नेपालमा पनि घोराही उपमहानगरपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन निजी क्षेत्रसँग सहकार्य गरेको छ । उक्त उपमहानगरपालिकाले सम्बन्धित कम्पनीसँग सम्झौता गरी फोहर संकलन तथा व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

हेटौँडाका लागि अब समाधानहरू स्पष्ट छन् तर राजनीतिक इच्छाशक्ति र कार्यान्वयनको अभाव देखिन्छ । घरघरबाटै फोहरको वर्गीकरण अनिवार्य गरिनुपर्छ, जसले व्यवस्थापन प्रक्रियालाई सहज बनाउँछ । जैविक फोहोरबाट जैविक ग्यास वा जैविक मल उत्पादन गर्न सकिन्छ, जसले ऊर्जा र कृषि दुवै क्षेत्रमा योगदान दिन सक्छ । दीर्घकालीन रूपमा फोहरबाट उर्जा परियोजना विकास गर्न सकिन्छ, जसले फोहोरलाई आर्थिक स्रोतमा रूपान्तरण गर्न सक्छ । अस्पतालमा आधारित फोहरका लागि छुट्टै फोहर व्यवस्थापन केन्द्र स्थापना गर्नु अत्यावश्यक छ, जसले संक्रमण र जोखिमलाई नियन्त्रण गर्न सक्छ । साथै, डम्पिङ साइटको वैज्ञानिक स्तरोन्नति वा नयाँ स्थानको पहिचान पनि आवश्यक छ, किनकि शहर नजिकै यस्तो जोखिमपूर्ण संरचना राख्नु योजनाको असफलता हो । ठेकेदारहरूको कडा अनुगमन, खुला रुपमा फोहर जलाउने कार्यलाई पनि पूर्ण प्रतिबन्ध र कानूनी दण्ड प्रणाली लागू नगरेसम्म सुधार सम्भव छैन ।

हेटौँडाको फोहोर व्यवस्थापन केवल वातावरणीय मुद्दा होइन, यो शासन, जवाफदेहिता र नागरिक अधिकारको सवाल हो । हिजो डम्पिङ साइटमा उभिँदा देखिएको दृश्यले एउटा कुरा स्पष्ट बनायो हामी फोहोर व्यवस्थापन गरिरहेका छैनौं, हामी समस्या थुपारिरहेका छौं । यदि आज पनि वैज्ञानिक व्यवस्थापन, कानूनी उत्तरदायित्व र दीर्घकालीन सोच लागू गरिएन भने भोलि यो समस्या केवल वातावरणीय संकट मात्र होइन, एक गम्भीर जनस्वास्थ्य आपतकालमा परिणत हुनेछ । अब प्रश्न स्पष्ट छ हामी फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने कि आफ्नै भविष्यलाई जोखिममा राख्ने ? अस्तु ।।

Exit mobile version