Home मुख्य समाचार मकवानपुरका संस्थागत विद्यालयमा पठनपाठन सुचारु

मकवानपुरका संस्थागत विद्यालयमा पठनपाठन सुचारु

हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीमा मंगलबार उपस्थित विद्यार्थी ।

हेटौँडा : मकवानपुरका संस्थागत विद्यालयहरुले आज (मंगलबार) बाट पठनपाठन सुचारु गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरले बैशाख १५ गतेदेखि विद्यालय सुचारु गर्न आव्हान गरेको थियो । प्याव्सनको आव्हानअनुसार नै विद्यालयहरु आजबाट सुचारु भएका हुन् ।

प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले बैशाख १५ गतेबाट विद्यालय सुचारु गर्न आव्हान गरेबमोजिम आजबाट अधिकांश विद्यालय सुचारु भएको बताउनुभयो । उहाँका अनुसार प्याव्सनले विद्यालयहरुलाई बैशाख १५ गतेबाट विद्यालय सुचारु गर्दै पुराना विद्यार्थीको अभिलेखीकरण गर्ने, नयाँ विद्यार्थी भर्ना, विद्यार्थीलाई परामर्श तथा अभिमुखीकरण कार्य गर्न आव्हान गरिएको बताउनुभयो ।

प्याव्सन मकवानपुरमा ६२ वटा विद्यालय आवद्ध रहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । मकवानपुरमा संस्थागत विद्यालयमा ३३ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । मकवानपुरमा सामुदायिक विद्यालय पनि सञ्चालनमा आएका छन् । केही सामुदायिक विद्यालय बैशाख ७ गतेदेखि नै सञ्चालनमा आएका थिए । हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीकी सहायक प्रिन्सिपल अर्चना दाहालले पहिलो दिन करिब ५० प्रतिशत विद्यार्थी उपस्थित भएको जानकारी दिनुभयो । पहिलो दिन भएर विद्यार्थीको उपस्थिति कम भएको उल्लेख गर्नुहुँदै एक दुइ दिनमा सबै विद्यार्थी विद्यालय आउने दाहालले बताउनुभयो ।

Exit mobile version