Home खेलकुद उपमेयर कप भलिबल प्रतियोगिता सुरु

उपमेयर कप भलिबल प्रतियोगिता सुरु

हेटौँडा : हेटौँडा उपमहानगरपालिकास्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । हेटौँडा नगर खेलकुद विकास समितिको सहयोगमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता शनिबार हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा सुरु भएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ वटा र महिलातर्फ २ वटा खेल भएको छ । प्रतियोगितामा पुरुषतर्फ १० वटा वडाको र महिलातर्फ ७ वटा वडाको टोली सहभागी छन् । प्रतियोगितामा सम्मिलित टोलीहरुलाई पुरुषतर्फ चार वटा र महिलाहरुलाई दुई वटा समूहमा विभाजन गरिएको छ ।

बुधबार पुरुषतर्फ भएको खेलमा समूह ‘क’ बाट वडा नम्बर १९ समूह विजेता र वडा नम्बर १७ उपविजेता बन्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यस्तै, समूह ‘ख’ का विजेता वडा नम्बर ५ र उपविजेता वडा नम्बर १४, समूह ‘ग’ का विजेता वडा नम्बर ११ र उपविजेता वडा नम्बर ६ र समूह ‘घ’ का विजेता वडा नम्बर १२ र उपविजेता वडा नम्बर १८ का टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलका खेलहरु आइतबार हुनेछ ।

यसैगरी शनिबार भएको महिलातर्फको खेलमा वडा नम्बर ५ ले १९ लाई र वडा नम्बर १२ ले १८ लाई हराएर प्रतियोगितामा विजयी सुरुवात गरेको छ । महिलातर्फ वडा नम्बर ९ र १३ बिचको खेल सुरु भए पनि रात परेपछि टुङ्गो लाग्न सकेन । यी दुई टोलीबिचको खेल पनि आइतबार पुन सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ वडा नम्बर ५, ६, ९, ११, १२, १३, १४, १७, १८ र १९ का टिमहरु सहभागी छन् । महिलातर्फ वडा नम्बर ५, ९, १२, १३, १७, १८ र १९ का टिम सहभागी छन् । प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका उपाधि विजेता टोलीले ५० हजार र उपविजेता टोलीले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने टोलीले समान १०÷१० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीहरुका लागि नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Exit mobile version