हेटौँडाः प्रत्येक वर्ष प्रदान गरिँदै आएको भैरव अर्याल स्मृति साहित्य सम्मान यस वर्ष साहित्यकार प्रोल्लास सिन्धुलीयलाई प्रदान गरिएको छ । शुक्रबार हेटौँडा–४ स्थित पुष्पलाल स्मृति पुस्तकालयमा आयोजित कार्यक्रममा साहित्यकार सिन्धुलीयलाई २१ हजार १ सय ११ रुपैयाँ नगदसहित २०८२ सालको भैरव अर्याल स्मृति सम्मान प्रदान गरिएको हो ।
साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको सो सम्मान भैरव अर्यालकै जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ लेखन तथा नेपाली साहित्यको वाङ्मयप्रति पु¥याएको योगदानको कदर गर्दै सिन्धुलीयलाई प्रदान गरेको आयोजकले जनाएको छ । पिता उमानाथ शास्त्री सिन्धुलीय र माता लालित्यलक्ष्मी शर्माको कोखबाट विसं २०३२ बैशाख ७ मा सिन्धुली जिल्लाको गैयाटारमा जन्मनुभएका सिन्धुलीयले निरन्तररुपमा नेपाली साहित्य लेखन, सम्पादनलगायतका क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको छ ।
उहाँले बाहिर एक मुठ्ठी तुसारो छ, शब्दहरुको नेपथ्य, चुपचापको अन्त्यलगायतका कविता संग्रह प्रकाशित गर्नुभएको छ । उहाँको कविताबाहेक कथा, लघुकथा, उपन्यास, निबन्ध, यात्रा संस्मरणका दर्जनौँ कृतिहरु प्रकाशित छन् । ‘कथालिका’, ‘सेतो कागज’लगायतका साहित्यिक पत्रिकाका सम्पादक रहीसक्नुभएका सिन्धुलीय हाल ‘नयाँ पत्रिका’ दैनिकको उपसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।
साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकारहरु स्नेह सायमी तथा लक्ष्मी मालीले आफ्ना कृतिहरु पुष्पलाल स्मृति पुस्तकालयलाई उपलब्ध गराउनुभएको छ । साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्य तथा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु कुन्ता शर्मा, निमेष निखिल, स्नेह सायमी, लक्ष्मी माली, धिरेन अनुपम, कल्पना पौडेल जिज्ञासुलगायतको उपस्थिति रहेको थियो ।
