Home मुख्य समाचार शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गर्दै गरेको तस्वीर ।

हेटौँडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेको छ । शुक्रबार हेटौँडामा कार्यक्रम आयोजना गर्दै इकाईले प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा इकाई प्रमुख सुदीप गिरीले शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी शिक्षा ऐन २०२८ को छैंटौं संशोधनपश्चात भएका व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो । उहाँले अधिकांश प्रधानाध्यापकहरुले प्रशासकीय जिम्मेवारीमा प्राविधिक त्रुटी गर्दा कार्यसम्पादन मूल्याङ्कन प्रक्रिया नै प्रभावित हुने गरेको बताउँदै अघिल्लो शैक्षिक सत्र २०८२ को कार्यसम्पादन मूल्याङ्कनमा हुनसक्ने प्रशासकीय त्रुटीहरुबारे जानकारी दिनुभएको थियो ।

यस्तै, कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईकी सूचना अधिकारी उन्नती ढकालले निःशुल्क शिक्षासम्बन्धी कार्यविधिको व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो । नयाँ शैक्षिक सत्रको सुरुवातमा प्रधानाध्यापकहरुलाई प्रशासनिक कार्यहरुमा सहजीकरण गरी त्रुटी हुने सम्भावना न्यून गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकीय शिक्षासमेत आवश्यक परेको प्रधानाध्यापकहरुले गुनासो गरेका छन् । उनीहरुले विद्यालयले बालबालिकालाई उत्कृष्ट सेवा दिन खोजे पनि अभिभावकको चासो कम हुँदा एकतर्फी प्रयासहरु खेर जाने गरेको भन्दै अभिभावकलाई बालबालिकालाई कसरी उत्कृष्ट अभिभावकीय भूमिकामा रहने भन्ने शिक्षा आवश्यक रहेको बताएका छन् । मकवानपुरगढी गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकाका विद्यालयहरुका करिब ४० जना प्रधानाध्यापकहरुको उपस्थिति थियो ।

Exit mobile version